धनगढी : कैलालीको गोदावरीमा आधुनिक स्वास्थ्य सामाग्री भण्डारण भवनको निर्माण सम्पन्न भएको छ । प्रदेश आपूर्ती स्वास्थ्य व्यावस्थापन केन्द्रका लागि उक्त भवन निर्माण गरिएको हो ।
ग्लोबल फण्डको कोभिड १९ संग लड्ने परियोजना अन्र्तगतको ३ करोड ६८ लाख आर्थिक सहयोगबाट निर्माण भएको भवनको सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले उद्घाटन गरे ।
मुख्यमन्त्री शाहले सिमित स्रोत र साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको बताएका छन् । बिहीबार उक्त भवनको उद्घाटन गर्दै विकास साझेदार संस्थाले गरिरहेको सहयोगले संघीयता अगाडि बढाउनमा सहयोग पुगिरहेको उनले बताए ।
भवन उद्घाटन समारोहमा बोल्दैं सामाजिक विकास मन्त्री मेघराज खड्काले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा एउटा इट्टा थपिएको बताए ।
ग्लोबल फण्ड अन्तर्गत कोभिड १९ संग लड्ने परियोजना अन्र्तगत रहेको जम्मा ४ करोड ८० लाख मध्य सेभ द चिल्ड्रेनले २८ लाख बराबरको उपकरण समेत प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ भने ८८ लाख बराबरको लागतमा भवनको पर्खाल तथा प्राङ्गण निर्माण कार्य समेत गरिएको छ ।
भवन निर्माणको लागि गोदावरी नगरपालिकाले जग्गा उपल्ब्ध गराएको थियो भने यसै कार्यक्रम मार्फत प्रदेश आपूर्ती स्वास्थ्य व्यावस्थापन केन्द्रलाइ एउटा डेलिभेरी भेन समेत दिइने सेभ डा चिल्ड्रेनले जनाएको छ ।
मुख्यमन्त्री शाहको पहिलो कार्यकालमा वि.सं. २०८० चैत्रमा शिलान्यास गरिएको उक्त भवन निर्माण सम्पन्न पश्चात सेभ द चिल्ड्रेनले सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
उक्त उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाह, सामाजिक विकासमन्त्री खड्का, राज्यमन्त्री सरस्वती खड्का स्वास्थ्य निर्देशक डा. खगेन्द्र बम, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्र कार्की , सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिनबहादुर सिंह, गोदावरी नगरपालिका—१ का अध्यक्ष गोपाल भट्टलगायतको उपस्थिती रहेको थियो ।
सेभ द चिल्ड्रेन तथा ग्लोबल फण्डको सहयोगमा सुदूरपश्चिम प्रदेशको गोदावरी र बागमती प्रदेशको हेटौटामा स्वास्थ्य सामाग्री भण्डारण (medical warehouse) निर्माण गरिएको हो ।
प्रतिक्रिया