अछाम : जिल्लाको पूर्वी क्षेत्रमा रहेको कमलबजार विमानस्थलमा सफल परीक्षण उडान भएको छ । नेपालगंज देखी तारा एयरको ९एन-एईभी विमानले कमलबजारमा सफल परीक्षण उडान गरेको हो ।
पहिलो पटक २०६५ सालमा नेपाल एयरले परीक्षण उड़ान गरेको कमलबजार विमानस्थलमा तारा एयरले दोस्रो परीक्षण उड़ान गॅरेको हो । पहिलो पटक परीक्षण उड़ान हुदा धावन मार्ग ग्राबेल गरिएको थिएन ।
यस उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए भने परीक्षण उडानमा क्याप्टेन सञ्जीव श्रेष्ठ, आरएन कंसकारसहितका विमान कर्मचारीहरू जहाजमा सवार थिए।
आर्थिक वर्ष २०८०/०८१ मा नागरीक उड्यन प्राधिकरणको १ करोड ३५ लाख बजेटले विमानस्थलको धावनमार्ग ग्राभेल गरिएपछि परीक्षण उडान गरिएको हो ।
कमलबजार विमानस्थलको परीक्षण उडान सफल भएपछि निरन्तरताका लागि पहल गरिने नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताए । नियमित उड़ान हूनसके यस क्षेत्रको यातायात सुविधा सहज हुने विश्वास गरिएको छ ।
परीक्षण उडान सफल भएपछि स्थानीयवासीले यसलाई आफ्नो दशकौं लामो सपना साकार भएको बताएका छन् ।जिल्लाका लागि ऐतिहासिक दिन भएको भन्दै आफूहरू हवाई यातायातको पहुँचमा आउनेमा स्थानीयहरुले खुसी व्यक्त गरेका छन।
परीक्षण उडानको लागी धावन मार्ग तयारी भएपछि एक महिना पहिले विमानस्थलको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समेत अनुगमन गरेका थिए ।
कमलबजार विमानस्थलको निर्माणका लागि २०४८ सालमा ४ करोड ६३ लाख रुपैयाँको लागत इस्टिमेट भई २०४९ सालमा निर्माण सुरु गरिएको थियो।तत्कालिन समयमा २ करोड ५० लाख खर्च भएको थियो ।
तर २०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला तत्कालीन नेकपा माओवादीको आक्रमणले विमानस्थल बन्द भएको थियो ।
माओवादीले रिपिटर टावर भत्काएपछि परीक्षण उडान समेत सम्भव नभई विमानस्थल सञ्चालनमा आउन सकेन ।
विमानस्थल सञ्चालन नहुदा स्थानीयले गाईबस्तु चराउने, पार्टीका कार्यक्रम तथा खेलकुद गतिविधिका लागि प्रयोग हुदै आएको थियो ।
प्रतिक्रिया