अछाम : शक्ति आधारभूत विद्यालय अछामको तीन लाख २० हजार बेरुजु देखिएको छ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयबाट पेस्की लिएको रकम विद्यालयको बेरुजुको रुपमा देखा परेको छ।
शक्ति आधारभूत विद्यालयले भवन निर्माण गर्न तीन लाख २० हजार रुपैयाँ पेस्की लिएको थियो। तर, विद्यालयले भवन निर्माणको काम नगरेपछि उक्त रकम २०७५÷७६ देखि बेरुजु रुपमा छ।
विद्यालयलाई शिक्षा विकास निर्देशनालय, डोटीले चार पटक बेरुजु रकम भुक्तानीका लागि पत्राचार गरेको छ। तर, शक्ति आधारभूत विद्यालय, कमलबजार–२ ले हालसम्म बेरुजु रकम फिर्ता गरेको छैन।
निर्देशनालयले २०७७ पौष २१ गते, २०८० जेठ १८ गते, २०८१ साउन ७ र २०८१ मंसिर १८ गते गरेर चार पटक विद्यालयलाई पत्र पठाइसकेको छ। शिक्षा विकास निर्देशनालयले गत मंसिर १८ गते सात दिनभित्रमा बेरुजु रकम दाखिला गर्न भनेमा कुनै जवाफसमेत आएको छैन।
शिक्षा विकास डोटीको निर्देशक दुर्गादत्त विष्टले तीन लाख २० हजार रुपैयाँ असुल नभएको बताए। उनले भने, ‘चार पटक पत्राचार गरेका छौँ। अब जिल्ला प्रशासनलाई पत्र पठाउने हो।’ सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिलेसमेत उक्त रकम दाखिला गर्न भनेको छ।
शक्ति आधारभूत विद्यालयले सम्झौता अनुसारको काम नगरेकाले तीन लाख २० हजार रुपैयाँ पेस्की फछ्र्यौट गर्न भनिएको छ। विद्यालयले २ कोठे भवन निर्माणका लागि पेस्की रकम लिएको थियो।- दिनेशखबर
प्रतिक्रिया