मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकाद्वारा जलीय जैविक विविधता संरक्षण विधेयक पारित

ढकारी गाउँपालिकाद्वारा जलीय जैविक विविधता संरक्षण विधेयक पारित


अछाम : जिल्लाको ढकारी गाउँपालिकाको हिउँदे अधिवेशनले जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयक पारित गरेको छ । सोमबार सम्पन्न १४औँ अधिवेशनले जलीय जैविक विवधताको संरक्षणसम्बन्धी विधेक पारित गरेको हो ।

विधेयक पारितपश्चात् बनेको ऐनले गाउँपालिका क्षेत्रभित्रका नदी, पोखरी, तालतलैया, जलचर, जलीय जैविक विविधताको संरक्षण गर्न सहज हुने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए ।

उनका अनुसार जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न तथा जलस्रोत र जलचरमा आश्रित समुदाय बिचको आध्यात्मिक एवं सांस्कृतिक अन्तरसम्बन्ध र अन्तरनिर्भरतासमेत सुदृढ हुनेछ ।

यसले गाउँपालिकाका नागरिकको आर्थिक हित हुने भएकाले पनि विधेयक ल्याएको अध्यक्ष साउदले बताए । अधिवेशनमार्फत गाउँपालिकाले आर्थिक वर्ष ०८१-८२ को अहिलेसम्म भएका विभिन्न ४८ वटा निर्णय अनुमोदन गरेको छ ।

यस्तै, आर्थिक वर्ष ०८१-८२ मा महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु अनुमोदन गरी फर्स्योट गर्ने निर्णय पास गर्नुका साथै आर्थिक वर्ष ०८१-८२ देखि ०८५-८६ सम्मका एकीकृत आवधिक योजनासमेत पारित गरिएको छ ।

अधिवेशनमा व्यापक छलफलपछि आर्थिक वर्ष ०८१-८२ का रकम अभाव देखिएका स्वीकृत कार्यक्रम सञ्चालन गर्न केही शीर्षकहरूलाई रकमान्तर, संशोधन र खारेज गर्ने निर्णय पनि गाउँसभाले गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदको अध्यक्षता तथा उपाध्यक्ष नेत्रकलादेवी शाहीको स्वागत मन्तव्यबाट सुरु गरेको सभामा सभाका सदस्य चन्द्रबहादुर बुढाले जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयक प्रस्तुत गरेका थिए ।

अर्का सदस्य प्रकाशबहादुर थापाले बेरुजु फर्स्योट, रामबहादुर थापाले कार्यपालिकाको निर्णय अनुमोदन, पहलवान थापाले आवधिक योजना र चन्द्रबहादुर साउदले बजेट रकमान्तर बारेको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।