अछाम : नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीले निष्कासन गरेपछि एमाले अछाममा व्यापक असन्तुष्टि बढेको देखिएको छ । यो संगै एमालेका नेता कार्यकर्ता डा: रावलको समर्थनमा खुल्न थालेका छन् । मंगलबार पत्रकार सम्मेलन गरि एक हजार ८६ जनाले पार्टी छोडेर मातृभुमी जागरण अभियानमा सामेल भएको घोषणा गरेका छन् ।
नेकपा एमाले परित्याग गरेर डा. भीम रावलको अभियानलाई समर्थन गर्नेमा अछामबाट प्रतिनिधित्व गर्दै प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिालय सदस्य पाँच जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरु छ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित एक हजार ८६ जनाले एमाले छोडेर मातृभुमी जागरण अभियानमा सामेल भएका हुन् ।
दलविहीन बनेपछि मातृभूमि जागरण अभियानको घोषणा गर्दै रावल अहिले गृहजिल्ला अछाम छन् । पत्रकार सम्मेलनमा बोल्दै एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहले हाललाई नेकपा एमाले परित्याग गरेको नभई मातृभूमि जागरण अभियनलाई समर्थन गरेको दाबी गरे। उनले मंगलबार सार्वजनिक भएको सूची अछामको साफेंबगर आसपासको मात्रै भएको र यसैगरी अन्य क्षेत्रको पनि सार्वजनिक हुँदै जाने बताए ।
प्रतिक्रिया