अछाम- २०५८ सम्म जिल्ला सदरमुकाम मंगलसेनमै भरपर्दो बिजुली बत्ती थिएन । कैलाश खोला साना जलबिधुत आयोजना बाट छिटफुट रुपमा बिजुली बले पनि नियमित भने थिएन । त्यसपछि केन्द्रीय प्रसारण लाइनको विस्तार हुदा सदरमुकाम सहितका अन्य गाउ भने विद्युत् सेवाको पहुँचमा आए।
तर सदरमुकाम रहेकै मंगलसेन नगरपालिकाको एउटा गाउँमा बिजुली बत्तीको सुविधा छैन भन्दा आश्चर्य लाग्न सक्छ । ५८ सालमै झिलीमिली बिजुली चम्किने मंगलसेन नगरपालिकाको वडा नम्बर १३ बस्तीको डाँडीगडे गाउँ भने १७ वर्षदेखि अन्धकारमा छ । ग्रामीण ऊर्जा कार्यक्रम अन्तर्गत चाइराखोला लघु जलविद्युत् आयोजनामार्फत निर्माण भएको १२ किलोवाट क्षमताको विद्युत्बाट डाँडीगडे गाउँका २ सय घरधुरीले ८ वर्षसम्म बिजुली बत्तीको सेवा लिए । तर, २०६४ मा विद्युत्को पावर हाउसमा रहेको मेसिनमा सामान्य खराबी आउँदा अवरुद्ध बनेको विद्युत् सेवा न त सुरु हुन सक्यो न त केन्द्रीय प्रसारण लाइन नै पुग्न सक्यो ।
‘२०६४ मा अवरुद्ध बनेको विद्युुत् सेवालाई सञ्चालनमा ल्याउन कसैले चासो दिएनन् । विद्युत्का लागि विकल्प पनि छैन’, स्थानीय भवानीप्रसाद ढुंगानाले भने । ग्रामीण ऊर्जा विकास परियोजनामार्फत १२ लाख अनुदान र ७ लाख रुपैयाँको जनश्रमदानबाट बनेको उक्त विद्युत्को पावरहाउसमा रहेको मुख्य मेसिनमा २०६४ मा सामान्य खराबी आएको थियो ।
मेसिन मर्मतका लागि तत्कालीन अवस्थामा अपरेटर नपाएर मर्मत नहुदा अहिले भग्नावशेषमा परिणत भैसकेको सोकी वडाका अध्यक्ष हिक्मत बोगटीले बताए । अब उक्त योजना मर्मतभन्दा पनि आयोजनालाई नयाँ तरिकाले निर्माण गर्नुपर्ने अवस्था रहेको अर्का स्थानीय दुर्गा जैसी सुनाउँछन् ।
साँफेबगरसम्म मात्रै सडक पुगेका बेला डाँडीगडेका नागरिकले सिमेन्टदेखि मेसिन र विद्युत्का लागि आवश्यक पर्ने अन्य सबै पार्टपुर्जा श्रमदानमा बोकेर ल्याएको स्थानीय रामबहादुर मिझारले स्मरण गरे । उनले भने, ‘आयोजना सामान्य मर्मतसमेत हुन नसक्दा गाउँ नै अन्धकार भयो ।’ अहिले गाउँलेले श्रमदानमै गाडेका सालका पोल भाँचिएका र विद्युत् तार पनि चुँडिएको अवस्थामा छन् । विद्युत् अभावका कारण स्थानीय बालबालिकालाई पढ्न, मिल सञ्चालनलगायतमा अप्ठेरो पर्दै आएको छ ।
बेलाबेलामा उक्त विद्युत् आयोजना मर्मत स्टिमेट तयार पारिए पनि कुनै निकायबाट पहल हुन नसकेको शिशुकल्याण आधारभूत विद्यालयका शिक्षक मीनबहादुर बोगटीले जानकारी दिए । ऊर्जाले त्यतिबेला विद्युुत् बाले पनि त्यसपछि चासो नदिँदा आयोजना लथालिंग भएको मंगलसेन नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हिक्मत बोगटीले बताए ।
उनका अनुसार उक्त आयोजनाका पार्टपुर्जा खिया लागेर काम नलाग्ने भइसकेका छन् । २०७४ सालमा देशमा सघियता पनि आयो स्थानीय सरकार बने पहिलो कार्यकाल सकिएर दोश्रो कार्यकाल सुरु भइसक्दा पनि गाउमा बिजुली पुगेको छैन । हाल वडाका २ गाउ डाँडीगडे र बाडामा राष्ट्रिय प्रसारण लाइन पुगाउनका लागि ठेक्का भएपनि काम सुरु नभएको वडाध्यक्ष बोगटीले जानकारी दिए । १३ नम्बर वडा कार्यालय सम्म प्रसारण लाइन पुगेपनि गाउमा भने अझै नपुगेको उनले बताए ।
जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले उक्त गाउँका लागि टेन्डर भैसकेको र अब तत्काल काम सुरु हुने बताए । ‘२ वर्षदेखि निरन्तर पहल गरिरहेका छाैँ, नगर प्रमुख बोहराले भने बिधुतका कर्मचारीको लापरबाहीले टेन्डर पनि ढिला र काम सुस्त हुदा ढिलाइ भएको हो ।’
प्रतिक्रिया