अछाम। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले सम्भावना नै सम्भावनाको खानी रहेको अछामलाई माथि उठाउन बाहिर गएका अछामीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।
बिहीबार सातौं साँफेबगर महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले देश भित्रका थुप्रै ठाउँहरुमा मात्र नभएर भारतसहित युरोप र अमेरिका जता पनि अछामीहरु हरेक क्षेत्रमा राम्रो गरिरहेको बताए। बाहिर गएका अछामीहरुले यो सम्भावनालाई माथि उठाउनु पर्ने बेला आएको ओैंल्याउँदै मन्त्री पाण्डेले आफ्नो गाउँ बनाउन पैसासँगै सीप र अनुभव पनि भित्र्याउनु पर्नेमा जोड दिए।खप्तड, बडिमालीका, रामारोशन, बैद्यनाथ जस्ता प्रचुर पर्यटकीय सम्भावना बोकेका ठाउँको बीचमा रहेको अछाम सम्भावना नै सम्भावनाको खानी भएको उनले बताए।
विभिधतापूर्ण सम्भावना बोकेको यस क्षेत्रमा पर्यटनको प्रवर्द्धन एवं प्रचार प्रसारका लागि मन्त्रालयले प्राथमिकताका साथ योजना निमार्णको काम गरिरहेको मन्त्री पाण्डेको भनाइ छ। कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अछामलगायतका जिल्लाहरु वास्तवमै घुम्न लायकका ठाउँहरु भएको बताए।
महोत्सव उद्घाटनमा पूर्व जिविस सभापति भरतकुमार स्वार र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलबहादुर कुँवर विशिष्ट अतिथि रहेका थिए। महोत्सवमा नेपाली कांग्रेसका उपसभापति अर्जुन ताम्राकार, नेकपा एमालेका जिल्ला अध्यक्ष चन्द्र बोहोरा, नेकपा माओवादी केन्द्रका शिव बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक ओमप्रकाश रावल, साँफेबगर नगरपालिकाका उपप्रमुख शिलोज कुँवर, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउँद,मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्का, बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल, एरपोर्ट बजार ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवरलगायतले शुभकामना मन्तब्य राखेका थिए।
लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको महोत्सवको अध्यक्षता कृष्ण बहादुर कुँवरले गरेका थिए भने स्वागत दिनेश कुँवर तथा संचालन महेश कुँवरले गरेका थिए। महोत्सवमा डोटी पुर्वीचौकी गाउँपालिकाको भुवो नाँच,मेल्लेख गाउँपालिकाको पुतला नाँच र चौरपाटी गाउँपालिकाको न्याउले खेल प्रदर्शन गरिएको छ।
प्रतिक्रिया