अछाम : जिल्लाको साँफेबगरमा रहेको बयलपाटा अस्पतालको दिगो ब्यवस्थापनका लागि अध्ययन गरि मोडालिटी सिफारिश गर्न बनेको कार्यकारी समितिले पूर्णता पाएको छ । सामाजिक विकास मन्त्री मेघराज खड्काको सक्रियतामा समितिले पूर्णता पाएको हो ।
यसअघि माघ २४ गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री माननिय कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकार र बयालपाटा अस्पताल सरोकार समितिका पदाधिकारीहरु बिच बसेको मुख्यमन्त्रीस्तरिय बैठकले बयालपाटा असपतालको दिगो व्यावस्थापनका ५ सदस्यि निर्देशक समिति गठन गरेको थियो भने एक जना स्वतन्त्र स्वास्थ्य विज्ञ संयोजक रहने गरि कार्यकारी समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार सामाजिक विकास मन्त्री मेघराज खड्का संयोजक रहेको निर्देशक समितिले वरिष्ठ नेत्र चिकित्सक प्राध्यापक डाक्टर चेतराज पन्तलाई कार्यकारी समितिको संयोजकको जिम्मेवारी दिएको छ । ५ सदस्यि कार्यकारी समितिमा सामाजिक विकास मन्त्रालयका उपसचिव १ जना, सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत १ जना, न्याय हेल्थ नेपालबाट १ जना र बयलपाटा अस्पतालबाट १ जना सदस्य रहेका छन् ।
समितिले एक महिना भित्र बयालपाटा अस्पतालका बारेमा अध्ययन गरि निर्देशक समितिलाई आगामी मोडालिटीका बारेमा प्रतिबेदन दिनेछन् । कार्यकारी समितिले बयालपाटा अस्पतालमा हालसम्म भएका काम कारबाहीको अध्ययन तथा आगामी दिनमा सो अस्पताल कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक मोडालिटी तय गरि प्रतिवेदन तयार गर्नेछ ।
एक महिनाको समय पाएको समितिले अस्पतालको आवश्यकता, औचित्यता र प्रभावकारिताको तथ्यगत आधारमा गहन अध्ययन र विश्लेषण गर्ने, व्यवस्थित रुपमा संचालन गर्न उपयुक्त विकल्पहरु पहिचान गरी निर्देशक समितिलाई सिफारिस सहितको प्रतिवेदन पेश गर्ने छ।
कार्यकारी समितिबाट प्राप्त प्रतिबेदनको अध्ययन गरि बिश्लेषण निर्देशक समितिले प्रदेश सरकारको मन्त्रीपरिषदमा अन्तिम प्रतिबेदन पेश गर्ने मन्त्री खड्काले बताए ।
सामाजिक विकास मन्त्री मेघराज खड्का संयोजक रहेको निर्देशक समितिमा साँफेबगर नगरपालिकाका नगर प्रमुख, सामाजिक विकास मन्त्रायलका सचिव, आर्थिक मामिला मनत्रालयका सचिव र मुख्यमन्त्रीको राजनितिक सल्लाहकार सदस्य रहेका छन् ।
खड्काले चालु आर्थिक वर्षको बजेटमा बयालपाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रुपमा बिकास गर्नका लागि आवश्यक अध्ययन गर्न १० लाख बजेट बिनियोजन गरेका थिए। अस्पताल मन्त्री खड्काकै निर्वाचन क्षेत्रमा अवस्थित छ। खड्काले आफ्नो चुनावी घोषणा पत्रमा नै बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि पहल गर्ने उल्लेख गरेका थिए।
नेपाल सरकारको सरकारी-गैरसरकारी-साझेदारी अवधारणा वमोजिम न्याय हेल्थ नेपालले व्यवस्थापन गर्दै आइरहेको बयालपाटा अस्पताल पछिल्लो समय आर्थिक संकटमा छ। अस्पताल आर्थिक संकटमा पर्दा नियमित रुपमा प्रवाह हुने सेवामा कठिनाई भइरहेको अस्पताल ब्यवस्थापनले जनाउँदै आएको छ।
बयलपाटा अस्पतालले अछामलगायत छिमेकी जिल्ला डोटी, बाजुरा, बझाङ, बैतडी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरुको विगत १७ वर्षदेखि निस्शुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ।
दातृ निकायले अस्पताललाई दिने सहयोग घटाएपछि आर्थिक संकट परेको हो। सामाजिक विकास मन्त्री खड्काले चालु आर्थिक वर्षको बजेटमा बयलपाटा अस्पतालका लागि बिभिन्न शिर्षकमा करिव सात करोड बजेट बिनियोजन गरेका छन् ।
प्रतिक्रिया