नियमित औषधी नखादा अछाम जिल्लामा ३८ जना क्षयरोगीको मृत्यु भएको छ। आर्थिक वर्ष २०७८/७९ देखि २०८१/०८२ सम्ममा ३८ जनाको मृत्यु भएको हो स्वास्थ्य कार्यालय अछामले जनाएको छ।
कार्यालयको तथ्यांकअनुसार आव २०७८/७९ मा १३ जना, २०७९/८० मा ८ जना, २०८०/८१ मा १२ जना र २०८१/८२ को फागुनसम्म पाँचजना गरी ३८ जनाको मृत्यु भएको देखिन्छ। उनीहरुसहित बिचमै उपचार छाड्ने अन्य क्षयरोगीको संख्या ५५ छ। त्यसमा पनि अधिकांश कामको खोजीमा भारत जानेहरु रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र जोशीले बताए।
सोमबार विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय अछाममा आयोजित अन्तरक्रियामा सरोकारवाला माझ सार्वजनिक गरिएको विवरणअनुसार चालु आवको पौषसम्ममा ४२ महिला र ६६ पुरुष गरी १०८ जना नयाँ क्षयरोगी पत्ता लागेका छन्। उनीहरुमध्ये सबैभन्दा बढी ६४ वर्षमाथिका २९ जना छन् भने ५५ देखि ६४ वर्ष उमेरका २१ जना, ४५ देखि ५४ वर्षका १६ जना, ३५ देखि ४४ वर्षका १९ जना, २५ देखि ३४ वर्ष उमेरका १० जना, १५ देखि २४ वर्षका १० जना, पाँचदेखि १४ वर्ष उमेरका एकजना र चार वर्षमुनिका दुईजना क्षयरोगी छन्।
यो तथ्यांकमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिन्छ। स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाका अनुसार जिल्लाका विभिन्न ९७ वटा स्वास्थ्य संस्थालाई क्षयरोग उपचार केन्द्रका रुपमा तोकेर उपचार भइरहेको छ। त्योसँगै जिल्लाको बयालपाटा अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग उपचार हुन्छ भने अन्य १६ ठाउँमा खकार परीक्षण गरी जाँच गर्ने गरिएको छ। ढुंगानाले अछाममा बिरामी पत्ता लगाउनै मुस्किल हुने गरेको र पत्ता लागेकाहरु समेत विभिन्न भ्रमका कारण भारत पलायन हुने समस्या रहेको बताए। जसले बिचमै उपचार छाड्नेको तथ्यांक बढेको उनको भनाइ छ।
खोक्दा, हाच्छ्युँ गर्दा र हाँस्दा हावाको माध्यमबाट यो रोग बढी सर्ने भएकाले यसबारे जनचेतना विस्तार गर्न सकिए क्षयरोग नियन्त्रणमा आउने ढुंगानाले बताए। सन् २०५० मा देशलाई नै क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ यस जिल्लामा पनि विभिन्न गतिविधि भइरेको भएपनि जनचेतनाको अभावले चुनौतीहरु यथावत देखिन्छ।
प्रतिक्रिया