मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पहिलो गाडी पुर्‍याउने दूरदर्शी नेतृत्वको साहसी यात्रा

अछाममा पहिलो गाडी पुर्‍याउने दूरदर्शी नेतृत्वको साहसी यात्रा


नमराज भण्डारी

नेपालको सुदूरपश्चिम प्रदेशमा रहेको दुर्गम जिल्ला अछाम दशकौँसम्म दुर्गम, विकासबाट बञ्चित र यातायात सम्पर्कविहीन क्षेत्रको रूपमा चिनिन्थ्यो। अप्ठ्यारा भौगोलिक बनावट, कमजोर पूर्वाधार र सीमित पहुँचले यहाँको जीवनशैली कठिन थियो। यस्तै चुनौतीपूर्ण परिवेशमा एउटा सपना जन्मियो—अछामलाई बाहिरी संसारसँग जोड्ने सपना। र, यो सपना साकार पार्न अघि सरे एक दूरदर्शी र साहसी नेता—स्व. हरि प्रसाद भण्डारी।

२००९ सालमा अछामको तत्कालीन श्री बण्डाली गाउपञ्चायत तेसिंगे (हाल जनालीबण्डाली गा.वि.स.–२) मा जन्मिएका थिए हरि प्रसाद भण्डारी । पिता भगीराम भण्डारी र माता पद्धादेवी भण्डारीका जेठा सुपुत्र हरि प्रसादले गाउमै साधारण शिक्षा हासिल गरेका थिए।

धेरै अछामी युवाझैं भारत रोजगारीका लागि गएका उनी त्यहाँ सन्तुष्ट हुन सकेनन्। त्यसपछि उनी आफ्नै गाउँ फर्केर समाजसेवा र राजनीति मार्ग रोजे। भण्डारीले आफ्नो राजनीतिक यात्रा गोरखा परिषद पार्टीबाट सुरु गरे। उनी दैलेख पश्चिम, डोटी र दैलेखमा विभाजित अछामलाई छुट्टै प्रशासनिक जिल्लाका रूपमा स्थापना गर्न सुरु भएको आन्दोलनमा अग्रणी भूमिकामा रहे।

२०१८ सालमा श्रीबण्डाली गाउपञ्चायतको उपप्रधानपञ्च बनेपछि २०२४ सालमा जिल्ला पञ्चायत सभापति निर्वाचित भए। अछामजस्तो विकट जिल्लामा सवारी साधनको कल्पनासमेत असम्भव लाग्थ्यो। हप्तौं यात्रा गर्नुपर्ने, सामान बोकेर गधा र खच्चड प्रयोग गरिन्थ्यो। यस्तो अवस्थामा भण्डारीले मोटरबाटो बनाउने र गाडी ल्याउने निर्णय गर्नु क्रान्तिकारी सोच थियो।

उनले चिसापानी (कैलाली) बाट कोल्लीमोरा, जंगलघाट हुँदै अछामको सदरमुकाम मंगलसेनसम्म सडक सञ्जाल विस्तार गर्ने योजना अघि सारे। त्यो समय न त सडक थियो, न नै बजेट। तर उनले स्थानीय जनश्रमदान, सामाजिक सहयोग र राजनीतिक इच्छाशक्तिको भरमा गाडी गुड्ने बाटो खने। तत्कालीन सरकारले दिएको रसियन जिप उनी नेतृत्वमै मंगलसेन पुर्याइयो—२०२४ साल चैतमा।

जब पहिलो गाडी अछाम आइपुग्यो, त्यो दृश्य ऐतिहासिक बन्यो। गाउँका बुढाबुढीदेखि बालबालिकासम्म उत्साहित भई सडक किनारमा गाडी हेर्न उभिएका थिए। धेरैले पहिलोपटक गाडी देखेका थिए—यो केवल भौतिक यान्त्रिक चमत्कार मात्र नभएर भविष्यप्रति आशा र प्रेरणाको संकेत थियो।

भण्डारीको नेतृत्वमा सुरु गरिएको “सडक आन्दोलन” केवल यातायातको सुविधा होइन, विकासको मूल चुरो थियो। अछाममा व्यापार, स्वास्थ्य, शिक्षा र संचारको ढोका यसैबाट खुले। बिरामी अस्पताल जान पाए, बजारसम्म सामान पुर्‍याउन सजिलो भयो, गाउँ–सहर जोडिए।

लेखक पूर्णप्रसाद नेपाल ‘यात्री’ले २०३५ सालमा प्रकाशित सेती अञ्चल दिग्दर्शन पुस्तकमा लेखेअनुसार—“भण्डारीको सभापतित्वकालमा अछाम जिल्लामा जनश्रमदानद्वारा झन्डै १००–१२५ किलोमिटर लामो कच्ची सडक निर्माण भएको हो।” यो कार्य सरकारले उचित ध्यान दिएको भए अझ प्रभावकारी हुने थिइो भन्ने कुरा उनले नै उल्लेख गरेका छन्।

सडक र विकासप्रतिको भण्डारीको प्रतिबद्धता केही प्रभावशाली नेताहरूलाई मन परेन। उनीहरुलाई लाग्थ्यो—भण्डारीको उदय उनीहरूको अस्त हो। त्यसैले पटक–पटक चुनावमा उनलाई हराउने खेल रचियो। तथापि, उनले राजनीति त्यागेनन्।

पञ्चायती राजनीतिमा निरन्तर सक्रिय रहँदै उनले नेपाल प्रौढ संगठनको केन्द्रीय सचिव पद समेत सम्हाले। स्वास्थ्य, शिक्षा र सामाजिक न्यायमा पनि उनको योगदान उल्लेखनीय रह्यो। उनले गोरखा दक्षिणबाहुजस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरे।

२०५२ साल साउन १२ गते, ६८ वर्षको उमेरमा उनले आफ्नो गाउँ जनालीबण्डाली तेसिंगेमै संसार छाडे। तर उनले रोपेको विकासको बीउले अछामको भविष्य निर्माणमा गहिरो प्रभाव पारेको छ। आज अछाम सडक सञ्जालमा जोडिएको छ, यातायात नियमित छ, सेवा–सुविधा क्रमशः फैलँदै छ। तर त्यो पहिलो पाइला, त्यो पहिलो गाडी—भण्डारीकै सपना थियो।

हरि प्रसाद भण्डारी केवल एक राजनेता होइनन्, एक दृष्टिवान अगुवा थिए। उनले जुन बेला बाटो थिएन, त्यतिबेला बाटो बनाए। जब नेताहरू व्यक्तिगत लाभमा व्यस्त थिए, उनले अछामका लागि गाडी मागे। उनले पहाडको सपनालाई पाङ्ग्रा लगाए। आज हामी भन्छौं—”जहाँ बाटो छैन, त्यहाँ बाटो बनाउनेहरू नै साँचो नेता हुन्।” र, अछामको इतिहासमा त्यस्तो नेतृत्वको नाम सधैं अमर रहनेछ—हरि प्रसाद भण्डारी।