अछाम: मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ८९ लाख ६ हजार बजेट ल्याएको छ । सोमबार सम्पन्न नगरसभाको सातौ अधिवेशनमा बजेट सार्वजनिक गरिएको हो ।
नगरपालिकाले यसपालीको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी पहिलो प्रथामिकता दिएको छ । पूर्वाधार विकास तर्फ पालिकाले पालिका केन्द्र जोड्ने कालोपत्रे सडकका लागि संघिय सरकारको समपुरक अनुदान साझेदारी सहित १ करोड ७९ लाख विनियोजन गरेको छ भने अछाम क्याम्पस देखी मुख्य बजार जोड्ने पक्की सडक निर्माणका लागि ३० लाख बजेट विनियोजन गरेको छ ।
यस्तै मंगलसेन बृहत खेलमैदान निर्माणका लागि प्रदेश सरकारको समपुरक अनुदान साझेदारी सहित ४५ लाख, नगरपालिकालाई स्वच्छ, सफा बनाउन फोहोरमैला तथा ढल व्यवस्थापन संघिय सरकार र प्रदेश सरकारसंग समन्वय गर्दै विभिन्न संस्थाहरुको साझेदारीमा ५ लाख र फोहोरमैला बिसर्जन स्थल पूर्वाधार निर्माणका लागि प्रदेश विशेष योजना अन्तर्गत ३५ लाख, आगामी २ वर्ष भित्र एक घर एक धारा भन्ने नितिलाई सार्थकता दिन खानेपानी मर्मत तथा साझेदारीका लागि ८० लाख गरि पुर्वाधार विकासामा ४ करोड ९९ लाख बजेट विनियोजन गरिएको नगरको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
यसैगरि नगरका कृषि उपजलाई बृद्धीगर्न संघिय सरकारको विषेश अनुदान मार्फत कार्यन्वयन हुनेगरि नगरपालिका भित्र स–साना सिचाई पूर्वाधार निर्माणका लागि ६८ लाख, वडा न १० को भवन निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ ।
यस्तै कृषि तर्फ साना सिचाई पूर्वाधार निर्माण÷मर्मत कार्यक्रमका लागि १० लाख, कृषि विकास तथा पशु विकासको लागि कृषि तर्फ ३० लाख र पशु विकासका लागि २४ लाख रकम विनियोजन गरिएको छ । यसैगरी शिक्षा तर्फ सामुदायिक विद्यालय, क्याम्पस, खेलकुद, स्थानीय कला संस्कृतिको संरक्षण एवंम सम्बर्दन, परम्परागत सीप विकास कार्यक्रमका लागि २ करोड ९ लाख ४४ हजार विनियोजन गरिएको बताईएको छ ।
नगरपालिकाले प्रथामिकता दिएको अर्को प्रमुख क्षेत्र भनेको स्वास्थ्य क्षेत्र हो, स्वास्थ्य क्षेत्रको सुधारका लागि १ करोड ४० लाख ५० हजार रकम छुट्याईएको छ । जस अन्तर्गत नगर भित्र रहेका १७ वटा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन जनशक्ति व्यवस्थापनका लागि १ करोड १० लाख, महिला स्वास्थ्य स्वयमसेवीका प्रोत्साह कार्यक्रम निरन्तरताका लागि ५ लाख ८५ हजार रकम रहेको छ ।
पालिका भित्र रहेका अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, एचआईभि सक्रमित हिंसामा परेका महिला, गर्भवती तथा सुत्केरी महिला, समुदायमा पछाडी परेका पारिएका व्यक्तिहरुका लागि पनि बजेटको व्यवस्था गरिएको छ । यसैगरि नगरपालिकाले पालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक आवश्यक बजेट विनियोजन गरेको छ भने युवाहरुलाई रोजगारी दिन विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने आफ्नो निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
नगरपालिकाको नगरसभा को सातौ अधिवेशनमा नगर प्रमुख पदम बहादुर बोहराले आर्थिक वर्ष २०८२/०८३ को नति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उप प्रमुख संगीता रावल सोडारीले बजेट प्रस्तुत गर्नुभएको नगरपालिका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया