फाइल फोटो
अछाम ः जिल्लाको बयालपाटा अस्पतालमा पाठेघर खसेका ४८ जना महिलाहरुको सफल शल्यक्रिया सम्पन्न भएको छ । ७ गते देखि सुरु भएको शिबिरमा अछाम, बाजुरा र डोटीका समेत महिला गरी ४८ जनाको सफल शल्यक्रिया भएको अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।
अस्पताल निर्देशक डा. पाठकका अनुसार कोहलपुर मेडिकल कलेज बाट शिबिरको डा. बिनोद महासेठको नेतृत्वमा एनेश्थेसियोलोजिष्ट डा. शैलेन्द्र शाक्य आएका थिए । उहाँहरुको नेतृत्वमा बयालपाटा अस्पतालको ओटी टिम समेल संंलग्न भई उक्त शल्यक्रिया शिबिर सम्पन्न गरेको हो ।
पहिलो दिन सम्पन्न शल्यक्रिया भएका महिलाहरु घर फर्किसकेका छन् भने बाँकी पनि एक दुई दिनमै डिसचार्ज हुने अस्पतालले जनाएको छ । शल्यक्रिया सम्पन्न पश्चात बोल्दै डा. महासेठले आफु शिबिरको क्रममा देशका बिभिन्न ठाँउमा गएपनि बयालपाटामा आएर सेवा दिदाँ छुटट्ै आनन्द महशुस भएको बताए । यहाँका कर्मचारीको साथ सर्पोट र टिमवर्कको भावना अन्त्य कतै नभएको उनले बताए ।
यस्तै एनेश्थेसियोलोजिष्ट डाक्टर शैलेन्द्र शाक्यले पनि आफु पहिलो पटक सुदूरपश्चिम आएको बताउदैँ सोचे जस्तो नभई एकदम राम्रो ठाँउ भएको र यहाँ आएर काम गर्न पाउदाँ खुशी महशुस भएको उल्लेख गरे । जिल्ला बाहिर उपचार गराउन जाँदा धेरै पैसा र समय खर्च हुने भन्दै शल्यक्रिया भएका महिलाहरुले निशुल्क रुपमा आफ्नो उपचार पाएपछि उनिहरु खुशी भएका छन ।
स्वास्थ्य कार्यालय अछाम र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीको आर्थिक सहयोग र बयालपाटा अस्पतालको आयोजनामा निशुल्क शल्यक्रिया शिबिर भएको थियो ।
प्रतिक्रिया