अछाम ः सेवाग्राहीको चाँपलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय अछामले जोर बिजोर सेवा प्रणाली लागु गरेको छ । सेवाग्राहीको संख्या दैनिक साविक भन्दा दोब्चर बढी भएकाले जोर बिजोर सेवा प्रणाली सुरु गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार राष्ट्रिय परिचयपत्रलाई सामाजिक सुरक्षा भत्ता, बैंकिंग कारोबार लगायतका अन्य सेवा प्राप्तिका लागि अनिवार्य गरे पश्चात नागरिकता प्रतिलिपि, नँया नागरिकता लिने सेवा ग्राहीको संख्या बढेकाले जोर बिजोर प्रणाली सुरु गरिएको हो ।
उनका अनुसार हाल प्रशासन कार्यालयमा कर्मचारी समेत अभावलाई मध्यनजर गर्दै यो प्रणाली लागु गरिएको हो । साथै २०५८ फागुन ४ गते भन्दा अगाडी जारी भएका नागरिकताको अभिलेख जली नष्ट भएकाले सो समय भन्दा अघि जारी भएका नागरिकताको अनिवार्य रुपमा अभिलेख कायम गरी नागरिकता प्रमाणपत्र र प्रतिलिपि जारी गरी राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने अवस्था सिर्जना हुँदा प्रतिलिपि लिने सेवाग्राहीको संख्या अत्यधिक बढेकाले समेत जोर बिजोर प्रणाली लागु गर्नुपरेको उनको भनाई छ ।
कार्यालयमा सीमित स्रोत साधनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेकोले नियमित कार्यालय समयभित्र सबै सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न नसकिने भएकाले जोर बिजोर प्रणाली लागु गरिएको हो । जसमा जोर दिनमा अछाम क्षेत्र नं. १ का नागरिकलाई र बिजोर दिनमा क्षेत्र नं. २ का नागरिकलाई सेवा प्रदान गरिनेछ ।
श्रावण ७ गते एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय अछामले सेवा प्रवाहलाई समेत लम्ब्याएको छ । बिहान ८ बजे देखि नै सेवा सुरु भई बेलुका साढे ६ बजेसम्म सेवा लिन सकिने जानकारी दिएको छ ।





















प्रतिक्रिया