“यदि हामीले अस्पतालले पहिलेभन्दा राम्रो सेवा दिइरहेको छ भन्ने अवस्था जनतामा सिर्जना गर्न सक्यौं भने मात्र प्रदेशले यसलाई आफ्नो जिम्मा लिएको अर्थपूर्ण हुनेछ। म यसमा प्रतिबद्ध छु र यो मेरो जिम्मेवारी पनि हो,” मन्त्री खड्काले स्पष्ट पारे।
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले बयालपाटा प्रादेशिक अस्पताललाई पहिलेभन्दा अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन्। हालका सेवाहरूलाई निरन्तरता दिँदै थप विशिष्टीकृत सेवाहरू थप्दै जाने योजना रहेको उनले बताए।
“न्याय हेल्थ नेपालले अवलम्बन गरेको नवीनतम अभ्यासहरू अपनाउँदै हामीले अस्पतालको स्वामित्व लिएका छौं,” मन्त्री खड्काले भने, “हामीले पहिलो पटक कुनै पनि उमेर सीमा लागू नगरी कार्यरत कर्मचारीहरूलाई प्राथमिकता दिँदै गठन आदेश र (संगठन र व्यवस्थापन) स्वीकृत गराई कर्मचारी भर्ना प्रक्रिया सुरु गरेका छौं।”
अन्य प्रादेशिक अस्पतालहरूमा प्रमुखको रूपमा मेडिकल सुपरिटेन्डेन्ट हुने व्यवस्था भए पनि बयालपाटाको लागि वर्तमान प्रमुखलाई नै कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी गरिरहेको जानकारी मन्त्री खड्काले दिए। उनले थपे, “स्वास्थ्य जस्तो क्षेत्रमा अस्पताल व्यवस्थापन समितिको अध्यक्षका लागि राजनीतिक नियुक्तिको सट्टा हामीले निर्वाचित प्रतिनिधिलाई पदेन अध्यक्ष बनाएका छौं।”
विभिन्न सकारात्मक सुधारहरूका बाबजुद पनि विगतमा गरिएको जस्तै पूर्ण रूपमा निःशुल्क सेवा प्रदान गर्नु चुनौती रहेको मन्त्री खड्काले बताए। “सरकारले एउटा जिल्लाका नागरिकलाई एक प्रकारको सेवा र अर्को जिल्लाका नागरिकलाई फरक सेवा प्रदान गर्न सक्दैन, हामीले समान व्यवहार कायम राख्नुपर्छ,” उनले भने।
बयालपाटालाई प्रदेशको चौथो र पहाडी जिल्लाको ५० शैयाको पहिलो अस्पतालको रूपमा स्थापित गराउन सफल भएको स्मरण गर्दै मन्त्री खड्काले भने, “आगामी दिनहरूमा बयालपाटा प्रादेशिक अस्पतालको सेवालाई उच्च गुणस्तरीय र नागरिकमैत्री बनाउन पहल गर्ने प्रतिबद्धता गर्दछु।”
पहाडमा डाक्टरहरूलाई काम लगाउन समस्या हुने भन्दै उनले यसका लागि प्रदेश सरकारले पहाडी जिल्लामा काम गर्ने डाक्टरहरूलाई विशेष सुविधा प्रदान गर्दै आएको बताए। बयालपाटाका लागि साँफेबगर नगरपालिकामा दुई विशेषज्ञ डाक्टरको सेवा सुविधा थप्न प्रदेशले अनुरोध गर्ने पनि उनले जानकारी दिए।
“यदि हामीले अस्पतालले पहिलेभन्दा राम्रो सेवा दिइरहेको छ भन्ने अवस्था जनतामा सिर्जना गर्न सक्यौं भने मात्र प्रदेशले यसलाई आफ्नो जिम्मा लिएको अर्थपूर्ण हुनेछ। म यसमा प्रतिबद्ध छु र यो मेरो जिम्मेवारी पनि हो,” मन्त्री खड्काले स्पष्ट पारे।
एक फरक प्रसंगमा उनले बयालपाटा अस्पताल विशेष परिस्थितिमा जन्मिएको र भौतिक पूर्वाधार भए पनि उपेक्षित तथा भग्नावशेष अवस्थामा रहेको बताए। २०६५ सालमा न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी अछाममा मात्र नभई डोटी, बाजुरा, बझाङ, दैलेख, कालिकोट र मुगुका बिरामीलाई समेत निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उनले स्मरण गरे।
मन्त्री खड्काले भने, “न्याय हेल्थ नेपालले १७ वर्षको सेवा अवधिमा एक असाधारण उदाहरण पेश गर्दै यस क्षेत्रको स्वास्थ्य स्थिति सुधार गर्न ठूलो मद्दत गरेको छ। न्याय हेल्थले गर्भवती महिला, बालबालिका र सुत्केरी समयमा हुने उच्च जोखिमहरू कम गर्न समुदाय स्तरमा महत्त्वपूर्ण योगदान पुर्याएको छ, जसले गर्दा मातृ र शिशु मृत्युदर घटेको छ। एक दशकभन्दा बढी समयदेखि हाडजोर्नी क्षेत्रमा पनि उदाहरणीय काम भएको छ।”
उनले थपे, “दाता निकायहरूबाट सहयोग खोजेर पनि संस्थाले दुर्गम क्षेत्रका मानिसलाई उल्लेखनीय योगदान पुर्याएको छ। न्याय हेल्थ नेपालले स्वास्थ्य क्षेत्र कसरी सुधार गर्न सकिन्छ भन्ने बाटो देखाएको छ, जुन अनुकरणीय छ मन्त्री खड्काले भने। अस्पताल सञ्चालनमा केही आर्थिक कठिनाइहरू भए पनि दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्न हामी न्याय हेल्थ नेपालसँग सम्गझौता गर्दै काम सुरु गर्यौँ। विगत केही वर्षदेखि अनिश्चिततामा रहेको अस्पताललाई हामी प्रदेश सरकारमा आएपछि दिगो व्यवस्थापनतर्फ अघि बढाएका छौं। यसलाई वास्तविकतामा ल्याउन काम गरेका छौं।”
न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालन हुदैँ आएको बयालपाटा अस्पतालले बिगत १७ बर्षमा करिब १६ लाख नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिईसकेको छ भने भोली अर्थात भाद्र १ गते देखि बयालपाटा प्रादेशिक अस्पतालका रुपमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत सञ्चालन हुदैँछ।





















प्रतिक्रिया