मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख सेनानी महर्जनद्वारा (एनसीसी) तालिमको निरीक्षण

प्रमुख सेनानी महर्जनद्वारा (एनसीसी) तालिमको निरीक्षण


अछामको तुर्माखाँद गाउँपालिकामा अवस्थित भैरव माध्यमिक विद्यालय तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानमा संचालित राष्ट्रिय सेवा दल (एनसीसी) को तालिमको बुधबार निरीक्षण तथा अनुगमन गरिएको छ। विद्यालयमा जारी १०० दिने तालिमको २१ औं दिनमा गोरख बक्स गण, मंगलसेनका प्रमुख सेनानी राजु महर्जनले निरीक्षण गर्नुभएको हो।
भैरव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर बुढाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी. प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा एनसीसी तालिममा सहभागी विद्यार्थी (क्याडेट) हरूले आकर्षक कवाज (परेड) र शारीरिक व्यायाम (पिटी) प्रदर्शन गरी आफ्नो कौशल प्रस्तुत गरेका थिए। उनीहरूको अनुशासित र ऊर्जावान प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष डम्बर बि.सी.ले एनसीसी तालिमले विद्यार्थीहरूमा अनुशासन, राष्ट्रप्रेम र नेतृत्वदायी क्षमताको विकास गर्ने बताउनुभयो। उहाँले यस्ता महत्त्वपूर्ण तालिम संचालन गरेकोमा नेपाली सेना र विद्यालय परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा अनुगमनकर्ता, गोरक्ष बक्स गणका प्रमुख सेनानी राजु महर्जनले क्याडेटहरूको प्रदर्शनको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “एनसीसी तालिम केवल शारीरिक अभ्यास मात्र होइन, यो एउटा यस्तो मञ्च हो जसले भोलिका देशका कर्णधारहरूलाई अनुशासित, चरित्रवान र जिम्मेवार नागरिक बनाउँछ।” उहाँले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
गोरक्ष बक्स गणको सहजीकरणमा संचालित १०० दिने तालिममा विद्यार्थीहरूलाई सैनिक अनुशासन, राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन र सामाजिक सेवा जस्ता विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइनेछ।
कार्यक्रममा गणका सह-सेनानी शिव थापा, भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर बुढा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन सह- शिक्षक लक्ष्य बहादुर बुढाले गर्नु भएकाे थियाे ।