मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा प्रादेशिक अस्पतालमा मेसुको जिम्मेवारी डा. जोशीलाई

बयालपाटा प्रादेशिक अस्पतालमा मेसुको जिम्मेवारी डा. जोशीलाई


अछाम : बयालपाटा प्रादेशिक अस्पताल अछाममा मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी बरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा. जगदीश जोशी (१० औँ तह) लाई दिईएको छ । सुदूरपश्चिम प्रदेश सरकार मातहत अस्पताल सञ्चालनमा आएसंगै तत्कालका लागि अस्पताल प्रमुखको जिम्मेवारी एमडी जिपी एण्ड ईएम बिशेषज्ञ डाक्टर जोशीलाई प्रदान गरिएको हो ।

यहि भाद्र १ गतेबाट प्रदेश मातहत सञ्चालन भएको अस्पतालको जिम्मेवारी डा. जोशीले पाएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि डां जोशीलाई अस्पताल प्रमुखको जिम्मेवारी दिएर खटाएको हो ।

मन्त्रालयको भाद्र ५ गतेको निर्णय अनुसार अस्पतालको आर्थिक, प्रशासनिक, नियमित चिकित्सकीय सेवा प्रदान गर्ने गरि मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी डा. जोशीले पाएका हुन् ।

सरकारी प्रक्रियामा आएको अस्पतालको जग बसाल्ने काम गर्नेछु : डा. जोशी

बयालपाटा प्रादेशिक अस्पतालको जिम्मेवारी पाएसंगै अछाम पुगेका डा. जगदीश जोशीले अस्पतालको जग बसाल्ने अठोट लिएका छन् । न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालन भईरहेको अस्पताल अब सरकारी प्रक्रियामा आएको छ डा. जोशीले भने यसको जग बसाल्ने काम गर्नेछु ।

सरकारी प्रक्रियामा आएसंगै अस्पतालकोे काम शुन्य बाट सुरु गर्नुपर्ने भएकाले यसको सुरुवाती काम पुरा गर्ने उनको अठोट छ । केही समयको लागि अस्पतालको नेतृत्व गर्ने जिम्मेवारी पाएपनि अस्पतालमा सकरात्मक सुधारको बाटो तय गर्ने उनको प्रतिबद्धता छ ।

अस्पतालमा हाल कार्यरत चिकित्सकको संख्या न्यून रहेकाले आकस्मिक खालका शल्यक्रिया देखि अन्य उपचारको नेतृत्व समेत डा. जोशीले गरिरहेका छन् । यसका साथै कर्मचारीको व्यवस्थापन, अस्पतालको खाता सञ्चालन, बजेट निर्माण, अत्यावश्यक सामाग्री खरिद गर्नुपर्ने मुख्य काम रहेको उनको भनाई छ । अस्पपतालको उपचारात्मक सेवाहरुको गुणस्तर समेत सुधार गर्ने लक्ष्य लिएका डा. जोशीले अन्य थप कामहरु विस्तारै गर्दै जाने समेत बताए ।

को हुन् डा. जगदीश जोशी ।

सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको उडितोलामा जन्मिएका डाक्टर जगदीश जोशीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१४ मा एमडिजीपीको बिशेषज्ञता हासिल गरे ।

एमडिजिपी पुरा गरिसकेपछि सेती प्रादेशिक अस्पतालको आकस्मिक विभागको प्रमुख भएर जिम्मेवारी सम्हालेका डा. जोशीले कोभिड १९ को संक्रमण अवस्थामा काम गरेका थिए । कोभिड १९ को संक्रमणबाट बिरामीलाई बचाउन नेतृत्वदायी भुमिका निर्वाह गरेका जोशीलाई नेपाल सरकारको सिफारिषमा राष्ट्रपतिले प्रबल जनसेवा श्री बाट बिभुषित गरेका थिए ।

२ बर्षसम्म सेतीको आकस्मिक बिभागको जिम्मेवारी सम्हालेका डा. जोशीले थप २ बर्ष सेती संगै सामाजिक विकास मन्त्रालयको चिकित्सा महाशाखा प्रमुखको जिम्मेवारी समेत निर्वाह गरेका थिए । यस्तै डा. जोशीले २ बर्ष सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

तत्पश्चात अमेरिकी सरकारले प्रदान गर्ने बिश्व प्रसिद्ध र अन्तराष्ट्रिय प्रतिष्पर्धाबाट छनोट हुने फुलब्राईट हम्फ्री फेलोसीप अन्र्तगतको ग्लोबल हेल्थमा सार्वजनिक स्वास्थ्य निति तथा व्यवस्थापन बिषयमा प्रतिष्ठित एमोरी बिश्वबिद्यालयबाट फेलोसिप पुरा गरी केही सयम अघि उनि नेपाल फर्केका हुन् ।

सेती प्रादेशिक अस्पतालबाटै ९ औँ तहको सरकारी सेवा सुरु गरेका डा. जोशीले कैलाली, काठमाण्डौँ, धरान, झापा, ओखलढुंगा, सिराह र ईलाम लगायतका जिल्लाका बिभिन्न अस्पतालमा काम गरेको अनुभव छ । पूर्वी पहाडी दुर्गम जिल्लाहरुमा समेत सेवा गरेका डा. जोशीले हाल बयालपटा प्रादेशिक अस्पतालको प्रमुख सम्हालेर सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

अमेरिकाको प्रख्यात एमोरी, ईलिनोईस जस्ता बिश्वबिद्यालय र अमेरिकी सरकारको स्वास्थ्य विभाग सिडिसि, टास्क फोर्स फर ग्लोबल हेल्थ, कार्टर सेन्टर जस्ता प्रख्यात संस्थाको समेत अनुभव बटुलेका डा. जोशीले सरकारले आफ्नो बिज्ञता र शैक्षिक योग्यताको मुल्यांकन गरी प्रदेशको जुनसुकै क्षेत्रमा खटाएमा आफ्नो ज्ञान सिप जनताको स्वास्थ्य सेवाका लागि सर्मपित भएर काम गर्न आफु तयार रहेको समेत डा. जोशीले बताए ।