मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ पुस्ताको आवाज : परिवर्तनको माग

नयाँ पुस्ताको आवाज : परिवर्तनको माग


– ज्ञानेन्द्र विश्वकर्मा

म नयाँ पुस्ताको प्रतिनिधि हुँ। हामीले देखेको, भोगेको र महसुस गरेको यथार्थ स्पष्ट छ—आज देशको प्रमुख समस्या भ्रष्टाचार, नेतृत्वमा स्थायित्वको अभाव र पुराना नेताहरूका झुटा आश्वासन हुन्। दशकौँदेखि निरन्तर नेतृत्व गरिरहेका पुराना नेताहरूले देशलाई दिशाहीन मात्र बनाएका छैनन्, भविष्यको बाटोसमेत धमिलो पारिदिएका छन्।

दलभित्र हजारौँ सक्षम युवा भए पनि अवसर नदिने, माथि मात्र टिकिरहने पुरानो पुस्ताको सोचका कारण तिनीहरू एकछेउमा थन्किएका छन्। दलभित्रको युवालाई अवसर नदिएसम्म न त नयाँ विचार जन्मिन्छ, न त देशले गति लिन सक्छ। युवा पुस्ता केवल ऊर्जा र उमंग मात्र होइन, यथार्थ बुझ्ने, समस्या देख्ने र समाधानतर्फ अघि बढ्ने पुस्ता हो। यही पुस्ता अघि आएर देश चलाउँछ भने मात्र भ्रष्टाचारविरुद्धको संघर्ष सफल बन्न सक्छ।


हाम्रो आन्दोलन र उद्देश्य

हामी, जेनेरेसन–जेड (Gen-Z), सडकमा उत्रिनुको कारण केवल नेताको पद बदल्नु मात्र थिएन। हाम्रो आन्दोलनको स्पष्ट उद्देश्य थियो :

  • भ्रष्टाचारको जरो उखेलेर फाल्ने।
  • सधैं राज गरेर बसेका टाउके नेताहरूलाई विस्थापित गर्ने।
  • पार्टीभित्रका युवालाई अघि ल्याएर देशको जिम्मेवारी दिने।

तर आन्दोलनमा बाहिरी घुसपैठ भयो, वास्तविक माग धमिल्याइयो, जसले गर्दा आन्दोलनले देखाएको शुद्ध सपना केही कमजोर बनेको देखियो। यद्यपि त्यो सपना हराएको छैन, हाम्रो लक्ष्य अझै जीवित छ।


संविधान र अन्तरिम सरकारको आवश्यकता

संविधान लोकतन्त्रको मेरुदण्ड हो। यसको रक्षा नगरी कुनै पनि स्थायी परिवर्तन सम्भव छैन। तर विडम्बना, पुराना नेताहरूले संविधानलाई आफ्नै स्वार्थअनुसार प्रयोग गर्दै आएका छन्। यदि यही ढाँचामा चुनाव गराइयो भने फेरि उही नेताहरू फर्किन्छन्, फेरि उही गल्ती दोहोरिन्छ, र फेरि देश त्यही संकटमा फस्छ।

त्यसैले समाधान के हो ? अन्तरिम सरकार गठन गरेर स्वतन्त्र, निष्पक्ष र ताजा जनादेशका लागि चुनाव गरिनुपर्छ। यही बाटोबाट मात्र नयाँ पुस्ताले नेतृत्व पाउने वातावरण तयार हुन्छ।

भारतलाई उदाहरणका रूपमा लिन सकिन्छ। त्यहाँ नरेन्द्र मोदीले नयाँ सोच, दृढ निर्णय र कार्यक्षमताका कारण नेतृत्वको सफलता देखाएका छन्। उनी पुराना संरचनामै जन्मिएका भए पनि नयाँ पुस्ताको दृष्टिकोणसहित अघि बढेका नेता हुन्। त्यस्तै, नेपालमा पनि यदि दलभित्रका युवालाई अवसर दिइयो भने, पुराना नेताहरूले दशकौँसम्म गर्न नसकेको काम केही वर्षमै सम्भव हुन्छ।


सामाजिक सञ्जालको प्रभाव

आज सामाजिक सञ्जाल हाम्रो जीवनको अविभाज्य हिस्सा बनेको छ। यसले जनतालाई सचेत बनाउन ठूलो योगदान दिएको छ। तर दुर्भाग्य, यही सामाजिक सञ्जालमार्फत पुराना नेताहरूले झुटा प्रचार, भावनात्मक नारा र विभाजनकारी विचार फैलाएर जनतालाई अलमल्याइरहेका छन्। यसलाई नकार्न सकिन्न—सामाजिक सञ्जालले सजिलै जनतालाई भ्रमित बनाइरहेको छ।

त्यसैले अब युवा पुस्ताले चाहिँ सामाजिक सञ्जालमा देखाइएको कुरा मात्र होइन, आफ्नै व्यवहार, आफ्नै कार्यशैली र आफ्नै नेतृत्वमार्फत विश्वास जित्नुपर्छ। तर शर्त स्पष्ट छ—संघीय लोकतान्त्रिक गणतन्त्रभित्रै युवाले नेतृत्व पाउनुपर्छ। यदि पुरानै नेताहरूको नियन्त्रण रहिरह्यो भने यो व्यवस्थाले पनि देशलाई विकासतर्फ अघि बढाउन सक्दैन।


निष्कर्ष

आजको पुस्ता केवल दर्शक बन्न तयार छैन। हामीले स्पष्ट देखिसकेका छौँ—देश बनाउन राजनीतिक दलहरू आवश्यक छन्, तर दलभित्रका युवालाई अघि ल्याउनैपर्छ। अब समय आएको छ, दलभित्रै नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ। देशको विकास युवाको काँधमै सम्भव छ, र हामी नयाँ पुस्ता त्यसका लागि तयार छौँ।