काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनाव सफल बनाउन आह्वान गर्नुभएको छ । आज सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आउँदो प्रतिनिधिसभा सदस्यको चुनावलाई सफल बनाउनुपर्ने बताउनुभयो ।
युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै चुनाव घोषणा गरेको र यसलाई सफल बनाउनुपर्ने राष्ट्रपति पाैडेलको भनाइ छ । लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल नागरिकले प्राप्त गर्न चुनाव महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट नागरिकलाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको भन्दै चुनावको वातावरण बनाउने भूमिका खेल्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चार माध्यमलाई व्यावसायिक रूपमा अघि बढाउन प्रसारण गर्ने विषय सामग्री महत्त्वपूर्ण हुने भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिह्न लोगो सार्वजनिक र नयाँ च्यानल एन टिभी वर्ल्डको शुभारम्भ पनि गरिएको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरित पीएसबी नेपालले प्रथम वार्षिकोत्सव पनि मनाएको हो ।




















प्रतिक्रिया