मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा नेपाल विद्युत प्राधिकरणको महसुल काउन्टर उद्घाटन

कमलबजारमा नेपाल विद्युत प्राधिकरणको महसुल काउन्टर उद्घाटन


अछाम — नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्र अन्तर्गतको कमलबजार महसुल काउन्टर आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।

कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले एक विशेष कार्यक्रममा रिबन काटी काउन्टरको उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले आफ्नै घरको विद्युत बिल नयाँ काउन्टरमार्फत भुक्तानी गर्दै सेवाको शुभारम्भ गर्नुभयो।

काउन्टर सञ्चालनमा आएपछि अब यस क्षेत्रका बासिन्दालाई विद्युत महसुल तिर्नका लागि मंगलसेन पुग्नुपर्ने झन्झट हटेको छ।

यससँगै अछाममा नेपाल विद्युत प्राधिकरणका महसुल काउन्टरको संख्या चार पुगेको छ। यसअघि मंगलसेन, साँफेबगर र बयलपाटामा काउन्टर सञ्चालनमा थिए।

नेपाल विद्युत प्राधिकरण अछामका प्रमुख हिक्मत विसीले ग्रामीण क्षेत्रका नागरिकलाई अनलाइन भुक्तानी प्रणाली उपयोग गर्न कठिनाइ भएको महसुस गरेर काउन्टर विस्तार गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार, इन्टरनेट पहुँच र प्रक्रिया जटिलताका कारण धेरै नागरिक अझै अनलाइन माध्यम प्रयोग गर्न सकिरहेका छैनन्।

प्रमुख विसीले कमलबजार काउन्टर सञ्चालनमा आएपछि कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाद गाउँपालिकाका नागरिकलाई विद्युत बिल भुक्तानी गर्न सहज हुने बताउनुभयो।

विशिष्ट अतिथि तथा कमलबजार नगर उपप्रमुख शारदा बिष्ट कुँवरले तीस रुपैयाँको बिल तिर्न समेत सदरमुखाम मंगलसेन पुग्नुपर्ने बाध्यता हटेको बताउँदै, यसबाट नागरिकलाई समय र यातायात खर्च दुबै बचत हुने उल्लेख गर्नुभयो।


कार्यक्रममा अछामलाई पूर्ण विद्युतीकरण गर्ने योजना अन्तर्गत हाल विद्युत विस्तारको काम तीव्र गतिमा भइरहेको जानकारी पनि दिइयो।

गत वर्ष कमलबजारमा ३३/११ के.भी. क्षमताको सबस्टेशन सञ्चालनमा आएको थियो, जसबाट हाल अछामका चार पालिका साथै दैलेख र कालिकोटका केही क्षेत्रहरूमा विद्युत प्रवाह भइरहेको प्राविधिक प्रमुख अनिल पासवानले बताउनुभयो।

उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, स्थानीय कर्मचारी, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।