अछाम : नेकपा एमाले अछामले सदरमुकाम मंगलसेनमा आयोजित भव्य जनप्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। पार्टी कार्यालयदेखि शुरु भएको ¥याली खुला मञ्चमा पुगेर जनसभामा परिणत भएको थियो। कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष शिव प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भयो। जनसभाका प्रमुख अतिथिमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञ बहादुर बोगटी रहनुभयो।
जनसभालाई सम्बोधन गर्दै नेता बोगटीले वर्तमान सरकारले एकपछि अर्को असंवैधानिक निर्णय गर्दै देशलाई अस्थिरतामा धकेल्न खोजेको आरोप लगाउनुभयो। जेनजी आन्दोलनका नाममा मुलुक अस्थिर बनाउन खोजिने प्रयासका विरुद्ध देशभक्त नागरिकले एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक बाटोबाट पदमा पुगेको दाबी गर्दै नेता बोगटीले यस्तो सरकार चुनाव गराउने क्षमता राख्दैन भन्दै संसद विघटन गर्ने अधिकार समेत नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको एकपछि अर्को गतिविधिले निर्वाचनको वातावरण नै बिग्रिएको छ।
प्रदेश क्षेत्र नं. २ का इन्चार्ज समेत रहनुभएका बोगटीले जेनजी आन्दोलनका नाममा उत्पात मच्चाउनेलाई नियन्त्रण गर्न नसकेकोमा सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै, सरकारको मुख्य उद्देश्य एमाले कमजोर पार्ने मात्रै रहेको आरोप लगाउनुभयो। एमाले शक्तिशाली बन्नु देशको हितमा हुने भएकाले कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी सुदृढीकरणमा लाग्न उहाँले आह्वान गर्नुभयो।
त्यसैगरी, एमाले केन्द्रीय सदस्य तथा अछाम क्षेत्र नं. १ का इन्चार्ज कमल तिमिलसैनाले देशी–विदेशी तत्वले देशलाई अस्थिरता तर्फ धकेल्न खोजिरहेको आरोप लगाउनुभयो। उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू एमाले नेतृत्वको सरकार ढालेर सत्ता हासिल गर्ने खेलमा लागेको दाबी गर्नुभयो।
नेता तिमिलसैनाका अनुसार २४ गतेको आन्दोलनलाई अपराधीकृत बनाउन माओवादी, रास्वपा र राप्रपाको प्रत्यक्ष हात रहेको छ। जेनजीका नाममा माओवादीले आफ्ना पूर्व लडाकुहरूलाई आन्दोलनमा उत्राएको आरोप समेत उहाँले लगाउनुभयो। अछाममा एमालेलाई कमजोर पार्न विभिन्न तत्व सक्रिय रहेको उल्लेख गर्दै, एमाले नै मुलुकलाई निकास दिने शक्ति भएकाले कार्यकर्ताले कुनै पनि चुनौतीबाट नडराई अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा संविधानसभा सदस्य भैरे कामी, प्रदेश कमिटी सदस्य सारदा बिष्ट कुवँर, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, नेकपा एमाले अछामका पूर्व अध्यक्ष चन्द्र बहादुर बोहरा, अनेरास्वीयु नेता भिम बहादुर बडायीत, युवा संघका नेता हेमन्त बिसीलगायतले पनि मन्तव्य राख्नुभयो।
पार्टीका उपाध्यक्ष तिलक बहादुर कुवँरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव हिरण्य प्रसाद भट्ट्राईले गर्नुभएको थियो।




















प्रतिक्रिया