अछाम: मंगलसेन नगरपालिका– स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणलाई लक्ष्य गर्दै मंगलसेनमा कोशेली घर सञ्चालनमा ल्याइएको छ। सामुदायिक सिकाइ केन्द्र मंगलसेन र नगरपालिकाको सहकार्यमा स्थापित उक्त कोशेली घर मंगलसेनको खुलामञ्च अगाडि रहेको सामुदायिक सिकाइ केन्द्र परिसरमा सञ्चालनमा आएको हो।
स्थानीयस्तरमा उत्पादन हुने परम्परागत तथा जैविक वस्तुहरूलाई एकै स्थानमा उपलब्ध गराई नगरमा आउने आगन्तुकलाई उपहारस्वरूप लैजान सहज होस् भन्ने उद्देश्यले बिक्री कक्ष संचालन गरिएको नगरपालिकाले जनाएको छ।
कोशेली घरमा अछाम जिल्लामा उत्पादन हुने चामलका विभिन्न जात, फलफूल, चोय–चित्राका सामग्री, कोदो, फापर, मकै, टिमुर, ओखर, शुद्ध घिउ, मह लगायत स्थानीय उत्पादन राखिएका छन्। अब लोपोन्मुख खाद्यबस्तु तथा स्थानीय उत्पादनलाई पनि क्रमशः संग्रह गरी यही केन्द्रबाट बिक्री–वितरण गरिने जानकारी गराइएको छ।
आईतबार सम्पन्न उद्घाटन कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षता तथा नगर प्रमुख पदमबहादुर बोहराको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले कोशेली घरलाई जिल्लाको पहिचानका रूपमा विकसित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “अछामलाई ऐतिहासिक तथा कृषि–सम्पन्न जिल्लाका रूपमा चिनाउन कोशेली घर प्रभावकारी माध्यम बन्न सक्छ,” उहाँले बताउनुभयो।
नगर उपप्रमुख संगीता रावल सोडारीले गुणस्तरीय वस्तुको सुनिश्चिततासँगै कोशेली घरलाई व्यवस्थित रूपमा अघि बढाउन सुझाव दिइन। स्थानीय उत्पादनको विक्री–वितरणमार्फत किसानलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले अछामको उर्वर भूमिले सबै प्रकारका खाद्यान्न तथा फलफूल उत्पादन गर्न सक्ने क्षमता रहेको उल्लेख गर्दै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्न सबैलाई आग्रह गर्नुभयो। “हाम्रो माटोमा सबै छ, तर हामीले बाहिरबाट सामग्री ल्याएर खाने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा वडा अध्यक्षहरू, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागिहरूले कोशेली घरको दिगो संचालनका लागि योजनाबद्ध कार्ययोजना आवश्यक रहेको सुझाव दिएका थिए।
कार्यक्रम वडा नं. ५ का अध्यक्ष झंकर प्रसाद भाटको स्वागत मन्तव्यबाट सुरु भई, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा मंगलसेन सामुदायिक सिकाइ केन्द्रकी सहजकर्ता निर्मला ढुंगानाले जानकारी प्रस्तुत गर्नुभएको थियो।























प्रतिक्रिया