अछाम । अछाम जिल्लाको दुर्गम मानिने तुर्माखाँद गाउँपालिकामा उच्च शिक्षाको सहज पहुँच विस्तार गर्ने उद्देश्यले तुर्माखाँद बहुमुखी क्याम्पसको औपचारिक उद्घाटन सम्पन्न भएको छ।
क्याम्पस स्थापना भएपछि स्थानीय विद्यार्थीहरूले क्याम्पस तहको अध्ययनका लागि सदरमुकाम वा बाहिरिनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ।
क्याम्पस तदर्थ समितिका अध्यक्ष मन बहादुर बयकको अध्यक्षतामा आयोजित विशेष समारोहमा सुदूरपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र संकायका डीन (प्रमुख) डा. भवानसिंह चलाउनेले क्याम्पसको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. चलाउनेले भौगोलिक रूपमा विकट तुर्माखाँदमा क्याम्पस स्थापना हुनु शैक्षिक आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
उहाँले सुदूरपश्चिम विश्वविद्यालयले दुर्गम ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र समग्र विकासका लागि सबै पक्षको सामूहिक प्रयासआवश्यक रहेको उल्लेख गर्नुभयो।
विशिष्ट अतिथि तथा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष **डम्बर बहादुर बि.सी.**ले स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँदै गाउँपालिकाभित्रै क्याम्पस स्थापना हुनु गौरवको विषय भएको धारणा व्यक्त गर्नुभयो। क्याम्पसको दिगो व्यवस्थापन तथा विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभयो।
त्यस्तै गाउँपालिका उपाध्यक्ष विमला कुमारी शाहीले क्याम्पस सञ्चालनसँगै उच्च शिक्षाका लागि छोरीबुहारीहरूले भोग्दै आएको कठिनाइ अब समाधान हुने विश्वास व्यक्त गर्नुभयो। अछाम बहुमुखी क्याम्पसका प्रमुख धुर्व कुमार शाहीले छिमेकी क्याम्पसको नाताले शैक्षिक आदानप्रदान र सहकार्यमा सधैं तत्पर रहने बताउनुभयो।
कार्यक्रममा विभिन्न क्याम्पसका प्रमुख, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम समापन गर्दै अध्यक्ष मन बहादुर बयकले विकट क्षेत्रमा क्याम्पस स्थापना र सञ्चालनमा हातेमालो गर्ने सबैलाई धन्यवाद दिँदै, क्याम्पस सञ्चालनमा आएसँगै न्यून आर्थिक अवस्था भएका तथा टाढा गएर पढ्न नसक्ने विद्यार्थीहरू—विशेषगरी छात्राहरू—प्रत्यक्ष लाभान्वित हुनेविश्वास व्यक्त गर्नुभयो।




















प्रतिक्रिया