मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला हिंसा विरुद्धको १६ दिने अभियान: अछामका सबै पालिकामा कार्यक्रम सञ्चालन

महिला हिंसा विरुद्धको १६ दिने अभियान: अछामका सबै पालिकामा कार्यक्रम सञ्चालन


अछाम । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अछाम जिल्लाभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी अभियान मनाइँदै छ। हरेक वर्षझैँ यो वर्ष पनि स्थानीय तहहरूले वडा–वडामा पुगेर सचेतना अभिवृद्धि गर्ने गतिविधिहरूलाई निरन्तरता दिएका छन्।

बिहीबार जिल्ला भरिका अधिकांश पालिकाहरूले लैंगिक हिंसा न्यूनीकरण तथा सामाजिक सचेतना विस्तारका उद्देश्यले विविध कार्यक्रम सम्पन्न गरेका छन्। सोही क्रममा मंगलसेन नगरपालिका–६ ले समेत विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

कार्यक्रममा लैंगिक हिंसा, यसको कारण, प्रविधिको सुरक्षित प्रयोग, तथा कानुनी उपचारका विषयमा दोहोरो अन्तरक्रिया गरिएको थियो। सहभागी महिला तथा गंगा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सरोकारवालालाई प्रश्न राख्दै विषयगत जिज्ञासाहरू राखेका थिए।

वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान वडा अध्यक्ष जनकराज भण्डारी प्रमुख अतिथि रहे। उनले समुदायमा देखिने विभिन्न प्रकारका हिंसाको अन्त्य स्थानीय विकासको पूर्वशर्त भएको उल्लेख गर्दै महिलामाथि हुने हिंसा र बालबालिकामाथि पर्ने दुष्प्रभावले समाजलाई पछाडि धकेल्ने बताउनुभयो।

प्रविधिको दुरुपयोगले किशोर–किशोरीहरू जोखिममा पर्ने उदाहरणहरू बढ्दो देखिएको उल्लेख गर्दै भण्डारीले प्रविधिको सही प्रयोग आवश्यक भएकोमा जोड दिनुभयो।

वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले वडा समितिले समुदायमा रहेका विकृति–विसङ्गतिहरू हटाउन निरन्तर सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएको जानकारी दिनुभयो। यस्ता कार्यक्रमबाट बालविवाह, छाउपडी, लैंगिक हिंसा जस्ता सामाजिक कुरीतिहरू अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा सदस्य दुर्गा प्रसाद भण्डारी, जन्मराज भण्डारी, जैसरा दमाईसहित स्थानीय सरोकारवालाको सहभागिता थियो। कार्यक्रमको उद्देश्यबारे महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले जानकारी गराउनुभएको थियो भने सञ्चालन पानसरा रावलले गर्नुभएको थियो।

शाखाका अनुसार नगरका १४ वटै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन हुने र शुक्रबार वडा नं. ७ मा कार्यक्रम आयोजना हुने जनाएको छ।