अछाम । मंगलसेन नगरपालिकाकी उप–प्रमुख संगीता रावल सोडारीले पछिल्लो समयमा प्रविधिबाट हुने हिंसा डरलाग्दो रूपमा बढिरहेको बताएकी छन्। विशेषगरी किशोरीहरू प्रविधि–आधारित हिंसाको सबैभन्दा बढी जोखिममा परेको भन्दै उनले यसको सही प्रयोगमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलसेन नगरपालिका–७ मा आयोजित कार्यक्रममा बोल्दै उप–प्रमुख रावलले, “मोबाइल सबैको हातमा छ, तर यसको दुरुपयोगले महिला र किशोरीहरू बढी प्रभावित भइरहेका छन्। अभिभावकहरूले पनि आफ्ना छोराछोरीप्रति विशेष ध्यान दिनुपर्छ,” भनी सचेतना अपील गरिन्।
उनले समुदायमा महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरी सभ्य र समानतामूलक समाज निर्माण गर्न सबैको सहयोग आवश्यक भएको उल्लेख गरिन्। घर–घरमै महिलाको सम्मान हुने वातावरण नबनेसम्म शान्ति सम्भव नहुने भन्दै उनले पुरुषप्रधान सोच त्याग्न पनि आग्रह गरिन्।
कार्यक्रममा एमाले नगर कमिटीका सचिव कालु विकले महिला–पुरुषबीच गर्ने काममा अझै पनि विभेद हुने गरेको भन्दै यस्तो नकारात्मक सोच परिवर्तन गर्न पुरुषहरूले पहल गर्नुपर्ने बताए।
उनले, “घर–परिवार अघि बढ्न महिला–पुरुष दुवैको समान भूमिका र सहकार्य अपरिहार्य छ,” भने।
त्यसबेला जाल्पा माध्यमिक विद्यालय, मुग्राचौरका सहायक प्रधानाध्यापक शान्ती शाहीले प्रविधिको दुरुपयोगकै कारण किशोरीहरू बढी प्रभावित बन्ने तथ्य साझा गरिन्। मोबाइलको दुरुपयोग बढेसँगै हिंसाका नयाँ ढंग देखिन थालेको उनको भनाइ थियो।
मालिका बचत तथा ऋण सहकारी संस्थाका सचिव कर्ण बहादुर बिष्टले पनि प्रविधिको सही प्रयोग गर्नुपर्नेमा जोड दिए। उनका अनुसार पछिल्ला वर्षहरूमा धेरैजसो हिंसाका घटना मोबाइलकै कारण बढिरहेका छन्।
कार्यक्रममा विद्यार्थी र सरोकारवालाबीच दोहोरो अन्तरक्रिया गरिनुका साथै विभिन्न सन्देशमूलक गीत प्रस्तुत गरिएको थियो। विद्यार्थी तथा शिक्षकहरूले “लैंगिक हिंसा अन्त्य गरौँ”, “प्रविधिको सही सदुपयोग गरौँ” जस्ता नारासमेत लगाएका थिए।
कार्यक्रममा वडा सदस्य उदयराम जैशी, गोमा कामी, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेकबहादुर थापा, पूर्व वडा सदस्य कान्त प्रसाद जैशीलगायत स्थानीय सरोकारवालाको उपस्थिति थियो।
कार्यक्रमको उद्देश्यबारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले जानकारी गराएकी थिइन् भने सञ्चालन पानसरा रावलले गरेकी थिइन्। कार्यक्रम वडा सदस्य गोकर्ण प्रसाद ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको थियो।




















प्रतिक्रिया