अछाम: सुरक्षित आप्रवासन (सामी) कार्यक्रम समुदायमा प्रभावकारी बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। यो कार्यक्रमले वैदेशिक रोजगारीमा जाने युवा तथा उनका परिवारहरूमा सचेतना फैलाउने मात्र नभई परिवारका सदस्यबीच विश्वासको वातावरण सिर्जना गर्न पनि सहयोग पुर्याएको सरोकारवालाको भनाइ छ।
मंगलसेन नगरपालिकाका १४ वटै वडामा गत वर्षदेखि यो कार्यक्रम लागू भएको छ। यस परियोजनामार्फत वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुरा, अपनाउनुपर्ने सावधानी, सिक्नुपर्ने सीप, साथै विदेशबाट आएको रकम कहाँ र कसरी खर्च गर्ने भन्ने विषयमा समेत जानकारी दिइँदै आएको सरोकारवालाले जनाएका छन्।
यो कार्यक्रममार्फत गाउँ–समुदायमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको पहिचान गरी उनीहरूले विदेशमा सिकेको सीप यही ठाउँमा उत्पादनमा कसरी उपयोग गर्न सकिन्छ भन्ने ज्ञान प्रदान गरिरहेको मंगलसेन नगरपालिका रोजगार संयोजक कृष्ण बहादुर सोडारीले जानकारी दिनुभयो। पछिल्लो समयमा वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यहरू विभिन्न समस्यामा पर्ने गरेको र त्यस्ता समस्या नआउन् भनी सावधानी अपनाउने तथा विश्वासको वातावरण निर्माण गर्ने कार्य भइरहेको संयोजक सोडारीको भनाइ छ।
मंगलसेन नगरपालिकाले मंगलबार आयोजना गरेको ‘सुरक्षित वैदेशिक रोजगारी’ सम्बन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले यो कार्यक्रमलाई समुदाय तहमा अझै प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए। नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अछाम जिल्लामा वैदेशिक रोजगारीको अवस्था, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल भएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले युवाहरूले आफ्नै गाउँ–ठाउँमा केही गर्ने भावना राखी अघि बढ्न आवश्यक रहेको बताउनुभयो। विदेश जाने प्रवृत्ति फेसनजस्तै बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्तो स्थिति रहिरह्यो भने गाउँहरू खाली हुँदै जाने चेतावनी दिनुभयो। उहाँका अनुसार सीप सबैभन्दा महत्वपूर्ण कुरा भएकाले सीप भएको व्यक्तिलाई सबैले सम्मान गर्छन्। productive काममा जोडिनुभन्दा पनि विदेश गएपछि पैसाको बोट हुन्छ भन्ने गलत सोच राखेर जानेहरूले विदेशमा समेत दुःख भोग्ने गरेको उहाँको भनाइ छ।
नगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले अछाम उर्वर भूमि भए पनि यहाँका नागरिकहरू खुर्सानीसमेत किनेर खाने अवस्था हुनु लाजमर्दो भएको टिप्पणी गर्नुभयो। घरको आगन, रछ्यानो वा गमलामासमेत खुर्सानी फलाउन सकिने हुँदाहुँदै यस्ता सामान्य कुरामा पनि परनिर्भर हुनुपर्नु दुःखद भएको उहाँको भनाइ छ। मेहनत गरे यही ठाउँमै रोजगारी सिर्जना गर्न सकिने भएकाले जागरुक भई श्रम गर्न उहाँले सुझाव दिनुभयो।
मंगलसेन नगरपालिका–३ का वडा अध्यक्ष बृख बहादुर बोगटीले गफ गर्ने तर काम नगर्ने हाम्रो परिपाटीले साना–साना कुरामा समेत अरूको भर पर्नुपर्ने अवस्था आएको बताउनुभयो। गाउँमा धेरैजसो जग्गा बाझो रहेको र मानिसहरू चियापसलमा बसेर ‘रोजगारी छैन’ भन्दै गुनासो मात्र गर्ने गरेको उल्लेख गर्दै उहाँले यस्तो बानीले गरिबी हटाउन नसक्ने बताउनुभयो। यही माटोमा पसिना बगाएर आय–आर्जन गर्न सबैलाई आग्रह गर्नुभयो।
सोही क्रममा आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता सुजाता लामाले जिल्ला प्रशासन कार्यालय अछाममा वैदेशिक रोजगारीका लागि आउने सेवाग्राहीको विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार बैशाखदेखि कात्तिक मसान्तसम्म ८७२ जनाले राहदानी बनाउन आवेदन दिएका छन्। त्यही अवधिमा ९९४ जनाले परामर्श सेवा लिएको समेत बताइयो, जसमा ६८४ पुरुष र २४० महिला रहेका छन्।
मनोसामाजिक परामर्शकर्ता रमिता ढुंगानाले पनि पालिकाका विभिन्न वडामा प्रदान गरिएका सेवाबारे जानकारी दिनुभयो। नगरभरि ९ जना मनोसामाजिक समस्या भएका व्यक्तिहरू पहिचान गरिए पनि हाल एक पुरुष र एक महिलालाई सेवा प्रदान गरिएको बताइयो। सेवाग्राहीको अनुमति लिएर मात्र सेवा दिने गरेको उहाँले बताउनुभयो।
अन्त्यमा, कार्यक्रमको सहजीकरण सामी कार्यक्रमकी अधिकृत लक्ष्मी चौधरीले गर्नुभयो भने सञ्चालन रोजगार संयोजक कृष्ण बहादुर सोडारीले गरेका थिए, जसमा अछामका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो।






















प्रतिक्रिया