अछामको ढकारी गाउँपालिकाले छाउपडी प्रथा अन्त्य गर्न कानुन निर्माण गर्ने भएको छ। पालिकाभित्र अझै पनि छाउपडी प्रथा कायम रहेकाले प्रभावकारी रूपमा नियन्त्रण गर्न नयाँ कानुनी व्यवस्था आवश्यक भएको स्थानीय सरकारले जनाएको छ। अब छाउपडी प्रथाका विरुद्धको अभियानलाई संस्थागत रूप दिन कार्यविधि तयार पारेर कानुन कार्यान्वयनमा ल्याउने तयारी अघि बढाइएको छ।
शुक्रबार सम्पन्न जिल्ला स्तरीय सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय बैठकमा गाउँपालिकाले उक्त जानकारी दिएको हो। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदका अनुसार कानुन नहुँदा विभिन्न गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भएकोले अब कानुनमा टेकेर जिम्मेवारीका साथ कार्य अघि बढाइनेछ।
अध्यक्ष साउदले भने, “हामीले छाउपडी अन्त्यका लागि पालिका–स्तरमा धेरै कार्यक्रम चलायौँ, तर कानुन अभावमा अपेक्षित परिणाम आउन सकेन। अब कानुन बनाएपछि छाउपडी मान्ने वा मान्न बाध्य पार्ने सबैलाई कानुनी दायरामा ल्याउन सजिलो हुनेछ।” उनका अनुसार छाउपडीका कारण धेरै किशोरी र महिलाले ज्यान गुमाइरहेका तथा पीडा भोगिरहेको अवस्थाले पुनः विशेष अभियान सञ्चालन गर्नु अपरिहार्य भएको छ।
बैठकमा अध्यक्ष साउदले फागुन महिनाभित्र ‘छाउगोठमुक्त पालिका’ घोषणा गर्ने प्रतिबद्धता पनि जनाए। पालिका–स्तरको समिति गठन भइसकेको र अब वडा तथा टोलस्तरमा समिति बनाएर थप कार्यक्रम अघि बढाइने जानकारी उनले दिए। बैठकमा सहभागी सरोकारवालाले पनि यस अभियानलाई अब परिणाममुखी रूपमा लैजाने प्रतिवद्धता जनाए।
सोही अवसरमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नबिन प्रसाद रिमालले छाउपडी प्रथा अन्त्यका लागि पालिकाले गरिरहेको पहलबारे जानकारी गराए। महिला, बालबालिका तथा किशोरी लक्ष्यित कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका र आगामी दिनमा अझ प्रभावकारी बनाइने योजना रहेको उनले बताए। उनका अनुसार पालिकाले अघि बढाइरहेका सकारात्मक कदमहरूलाई आधार मानी कानुन निर्माण कार्य अघि बढाइँदै छ।
बैठकमा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले छाउपडी, बालविवाहजस्ता सामाजिक कुरीति अन्त्य गर्न भाषण मात्र पर्याप्त नहुने बताउँदै हरेक तहका जनप्रतिनिधि तथा नागरिकले ईमानदार व्यवहार देखाउनुपर्नेमा जोड दिए। कतिपय जनप्रतिनिधिका घरमै छाउगोठ भएको गुनासो आउने गरेको उल्लेख गर्दै उनले प्रतिबद्धता मात्र जनाई कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गर्न आग्रह गरे।
कार्यक्रममा अछामका सबै १० वटा पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो। उनीहरूले आफ्ना–आफ्ना पालिकामा छाउपडी विरुद्ध सञ्चालन भइरहेका सकारात्मक गतिविधिबारे जानकारी गराए।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाहीको स्वागत मन्तव्यसँग सुरु भएको थियो। कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत नबिन प्रसाद रिमालले गरेका थिए।




















प्रतिक्रिया