मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालेवन सामुदायिक वन उपभोक्ता भेला सम्पन्न

पालेवन सामुदायिक वन उपभोक्ता भेला सम्पन्न


अछामको मंगलसेन नगरपालिका–५ मा रहेको पालेवन सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता भेला सम्पन्न भएको छ। सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भेलाले पर्यावरण पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८२ सम्बन्धी विषयमा छलफल गरी अनुमोदन गरेको छ भने वनको समग्र विकासका लागि गर्नुपर्ने विभिन्न कार्ययोजनाहरू समेत तयार पारेको छ।

भेलामा अछाम क्षेत्र नं. २ का निवर्तमान सांसद पुष्पबहादुर शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि शाहले सामुदायिक वन संरक्षण गर्न सकेमा समुदायलाई धेरै पक्षमा सहजता हुने बताउनुभयो। विश्व जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको वर्तमान अवस्थामा वन–जंगल संरक्षण गर्दै त्यसबाट दिगो लाभ लिन सक्नुपर्ने उहाँको धारणा थियो। वन केवल हाम्रो दैनिकीसँग मात्र नभई भविष्यसँग पनि जोडिएको उल्लेख गर्दै उहाँले भावी पुस्ताका लागि वनलाई नासोका रूपमा सुरक्षित छोड्नुपर्नेमा जोड दिनुभयो। देश अहिले चुनौतीपूर्ण अवस्थामा रहेकाले यस्ता सामाजिक र सामुदायिक कार्यमा सबैले हातेमालो गर्न आवश्यक रहेको उहाँको भनाइ थियो।

विशिष्ट अतिथिको आसनबाट बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले सामुदायिक वनलाई समुदायका लागि “बैंक”को संज्ञा दिनुभयो। सामुदायिक वन संरक्षण गर्नु भनेको समुदायमा सम्पत्ति सञ्चय गर्नु सरह भएको उल्लेख गर्दै उहाँले यसले गरिबी र पछौटेपन अन्त्यमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वनको उचित व्यवस्थापन र संरक्षण गर्न सकेमा युवाहरूका लागि रोजगारी सिर्जना हुने सम्भावना रहेको उहाँको भनाइ थियो।

त्यसैगरी डिभिजन वन कार्यालय अछामका प्रमुख केशव पराजुलीले पालेवन सामुदायिक वनले हालसम्म गरेको कार्यको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन सुझाव दिनुभयो। जिल्लाका अन्य क्षेत्रका उपभोक्ताहरू समेत यहाँ अध्ययन अवलोकनका लागि आउने वातावरण सिर्जना गर्न सकिने उहाँको भनाइ थियो। अछाम जिल्ला सम्भावनायुक्त रहेको उल्लेख गर्दै थोरै मेहनत गरे राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो।

उपभोक्ता भेलामा वडा नं. ५ का अध्यक्ष झंकरप्रसाद भाट, वडा नं. ५ का निवर्तमान अध्यक्ष हरिप्रसाद ढुंगाना, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेकबहादुर थापा, काप्रे–सिमभीटा सामुदायिक वनका अध्यक्ष राजेश बोगटी, नेपाल रेडक्रस सोसाइटी अछामका अध्यक्ष रत्नप्रसाद ढुंगाना लगायत सामुदायिक वनका उपभोक्ताहरूको सहभागिता रहेको थियो। वक्ताहरूले सामुदायिक वनले हालसम्म गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।

कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष कलावती सार्कीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव नन्दराज ढुंगानाले गर्नुभएको थियो।