अछामको मंगलसेनमा १० दिने साना होटल तथा लज व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जिल्लामा पर्यटन प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने तथा होटल व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो।
घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न बजार क्षेत्रहरूमा होटल तथा लज व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूको सहभागिता रहेको थियो। तालिममा होटल तथा लज सञ्चालनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट सीप प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय अछामका कार्यालय प्रमुख भिमबहादुर सिंहले जानकारी दिनुभयो।
तालिममा सहभागी होटल व्यवसायीहरूले तालिम आफूहरूका लागि अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। जानीनजानी होटल व्यवसाय गर्दै आएको अवस्थामा यस तालिमले व्यवसायिक रूपमा होटल सञ्चालन गर्ने तरिका, ग्राहक सेवा सत्कार, तथा परिकारलाई स्वादिलो र आकर्षक बनाउने सीप सिकाएको उनीहरूको भनाइ छ।
तालिममा सहभागी व्यवसायी सवित्री बटालाले होटल व्यवस्थापनका साथै स्थानीय उत्पादन प्रयोग गरी परिकार तयार गर्ने विधिबारे जानकारी पाउँदा सहभागी व्यवसायीहरू निकै उत्साहित भएको बताउनुभयो।
घरेलु तथा साना उद्योग कार्यालय अछामका कार्यालय प्रमुख भिमबहादुर सिंहको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा बोल्दै समन्वय प्रमुख कुँवरले होटल व्यवसायीका लागि यस्ता तालिम अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो। यस प्रकारका तालिमले जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गर्दै तालिमबाट प्राप्त सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले तालिम लिएर पनि त्यसलाई व्यवहारमा नलागु गर्ने प्रवृत्ति राम्रो नभएको बताउनुभयो। तालिमबाट प्राप्त सीपलाई दैनिक व्यवसायसँग जोडेर प्रयोग गर्न सके सफलताको बाटो खुल्ने उहाँको भनाइ थियो।
समापन कार्यक्रममा उद्योग वाणिज्य संघ अछामका अध्यक्ष बमबहादुर रावल, अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाल, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका अधिकृत नरेश डंगोल, नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष टेकबहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय अछामका उद्यम विकास सहजकर्ता चेतराज पनेरुले गर्नुभएको थियो।




















प्रतिक्रिया