अछाम बहुमुखी क्याम्पसको ३४औँ वार्षिक उत्सव तथा साधारणसभा मंगलसेनमा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै निवर्तमान सांसद शाहले अछाम बहुमुखी क्याम्पसको स्थापना कालदेखि नै आफू यसको विकासका लागि निरन्तर लागिपरेको बताउनुभयो। कठिन परिस्थितिका बाबजुद पनि क्याम्पसको हितमा गरिएका कार्यका कारण आज क्याम्पस यो अवस्थामा आइपुगेको उहाँको भनाइ थियो। क्याम्पसको थप स्तरवृद्धिका लागि वर्तमान कार्यसमितिले उदाहरणीय काम गरेको उल्लेख गर्दै उहाँले सबै क्षेत्रबाट सकारात्मक सहयोग भए यस क्याम्पसलाई यस क्षेत्रकै नमुना क्याम्पसका रूपमा विकास गर्न सकिनेमा जोड दिनुभयो। विगत र वर्तमान अवस्थाको तुलना गर्दा क्याम्पसमा उल्लेखनीय विकास भएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न सुझाव पनि दिनुभएको थियो।
कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमका अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले क्याम्पसलाई यो अवस्थामा पुर्याउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्नुभयो। आफू नेतृत्वको टिमले अविराम रूपमा खटेर काम गर्दा अछाम बहुमुखी क्याम्पस नमुना क्याम्पसका रूपमा स्थापित हुन सफल भएको बताउँदै काम गर्ने इच्छाशक्ति भए कठिन परिस्थितिमा पनि राम्रो काम गर्न सकिने उदाहरण आफूहरूले प्रस्तुत गरेको उहाँको भनाइ थियो। आफ्नो निरन्तर मेहनत र क्याम्पसका प्राध्यापकहरूको योजनाबद्ध प्रयासका कारण हाल क्याम्पसमा पर्याप्त भौतिक संरचना निर्माण भइसकेको तथा थप संरचना निर्माणको प्रक्रियामा रहेको अध्यक्ष बोहराले जानकारी दिनुभयो।
कार्यक्रममा क्याम्पस प्रमुख डा. ध्रुवकुमार शाहीले क्याम्पसको समग्र अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै कार्यक्रममा सहभागी सरोकारवालाहरूले क्याम्पसको थप विकासका लागि आ–आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
वार्षिक उत्सव कार्यक्रममा नेपाली काँग्रेसका पूर्ण शाह, नेकपा एमालेका बृख बहादुर बोगटी, नेपाली कम्युनिष्ट पार्टीका बम बहादुर रावल, मंगलसेन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष झंकर प्रसाद भाट, षोडशा माध्यमिक विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटी, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा, विद्यार्थी सृजना साउद लगायतले मन्तव्य राख्नुभएको थियो।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष यज्ञराज ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन उदयराज ढुंगानाले गर्नुभएको थियो।




















प्रतिक्रिया