मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो सपनाको नगर — मंगलसैन

मेरो सपनाको नगर — मंगलसैन

इतिहास, संस्कृति र सम्भावनाको उज्यालो संगम


जनकराज भण्डारी, अछाम : जिल्लाको सदरमुकाम मंगलसैन केवल एक प्रशासनिक केन्द्र मात्र होइन, यो इतिहासको गहिरो स्मृति, संस्कृतिको जीवन्त चेतना र भविष्यका सम्भावनाहरूको उज्यालो संगम हो। पहाडको काखमा बसेको यो नगर भौगोलिक सौन्दर्यले मात्र होइन, यहाँ लुकेका अवसर, श्रम, संस्कार र सपनाहरूले पनि विशिष्ट पहिचान बोकेको छ।

आज आवश्यक छ—हामी सबैले एकछिन रोकिएर सोच्ने, “मेरो नगर कस्तो हुनुपर्छ?” भन्ने प्रश्नलाई मनको गहिराइबाट उठाउने। यही चिन्तनबाट प्रेरित भएर, मंगलसैनका सम्भावनालाई शब्दमा उकेरँदै “मेरो सपनाको नगर मंगलसैन” शीर्षकमा यो लेख प्रस्तुत गरिएको हो।

२०७१ वैशाख २५ मा साविकका मङ्गलसेन, कुन्तीबण्डाली, जनालीबण्डाली, ओलीगाउँ र जुपु गाविसहरूलाई समेटेर मंगलसैन नगरपालिकाको जन्म भयो। २०७३ फागुन २७ मा बान्नातोली, बस्ती र कालागाउँ थपिँदै १४ वटै वडासहित यो नगर अझ सुदृढ बन्यो।
राष्ट्रिय जनगणना २०७८ अनुसार २६,५५७ जनसंख्या र ६,२२२ घरधुरीको बसोबास रहेको मंगलसैन आज सम्भावनाको मोडमा उभिएको छ।

कृषि : माटोसँग जोडिएको समृद्धिको सपना

कृषि हाम्रो जीवनको आधार हो, र मंगलसैनको आत्मा पनि यही माटोसँग गाँसिएको छ। परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधि र सीपसँग जोड्दै, स्थानीय स्रोत–साधनको उपयोगमार्फत आत्मनिर्भर नगर निर्माण गर्न सक्ने अपार सम्भावना यहाँ छ।

कैलास खोला क्षेत्रदेखि कालागाउँ, जुपु, बान्नातोली, छायातडा, रले, कुन्तीखेतगैरा, तापिरवा, जनालिरवा, जुलीरवा, सिराडा, धवलपुरी लगायत नगरका सबै वडाका उर्वर भू–भागमा उन्नत धानबाली, फलफूल, र लेकाली क्षेत्रमा कोदो, कागुनो, टिमुर, अल्लो, निउरो, पुतिना जस्ता रैथाने बालीहरूको संरक्षण र प्रवर्द्धन गर्न सकिन्छ।

मकै, गहुँ, मास, भटमास, सिमी, साग–सब्जी, बेसार, अदुवा, प्याज जस्ता खाद्यान्न, मसला, दलहन र तेलहन बालीको उत्पादन वृद्धि गर्दै आधुनिक सिंचाइ प्रणाली, उन्नत बीउबिजन, कृषि तालिम केन्द्र र किसानका लागि सुनिश्चित बजार व्यवस्था हुन सके मंगलसैन केवल उत्पादक नगर होइन—कृषिको नमूना केन्द्र बन्न सक्छ।

पर्यटन : संस्कार, सौन्दर्य र सम्भावनाको कथा

मंगलसैनको भूगोल आफैँ बोल्छ—इतिहास सुनाउँछ, संस्कृति झल्काउँछ। यहाँका पहाड, मठमन्दिर, देवी–देउताका थान र पुरातात्विक स्थलहरूले नगरलाई आध्यात्मिक र सांस्कृतिक पर्यटनको गहना बनाएका छन्।

अछामको ऐतिहासिक मंगलसैन दरबारलाई संग्रहालयका रूपमा विकास गर्दै चित्रे, सुरैकोट, मालिका ठुलासैन, भट्टेमालिका, लोडे त्रिवेणी, धुरेला, अयारबण्ड, कैलासमुठ शिवालय, कालिका देवी जुपु, नागातोला, जाल्पादेवी, कुन्तीधारा, मष्टा–माणु, जनालीबण्डाली, बस्ती, डेढीकोट, सुवाकोट, बुढाकोट लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूमा पूर्वाधार, पदमार्ग, व्यू–टावर, होमस्टे कार्यक्रम र स्थानीय कला–संस्कृतिको प्रवर्द्धन आवश्यक छ।

पर्यटन विकासले रोजगारी सिर्जना गर्छ, आय बढाउँछ र नगरको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउँछ।

स्वास्थ्य : विश्वास र जीवनको आधार

सपनाको नगरमा नागरिकले उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ। सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रलाई सुदृढ गर्दै जिल्ला अस्पताल अछामलाई विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र गुणस्तरीय सेवासहितको नमूना अस्पतालका रूपमा विकास गर्नुपर्छ।

स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन, नगर नागरिक स्वास्थ्य कोषको स्थापना र “स्वच्छ नगर—स्वस्थ समाज” को अवधारणाले मात्र विकासको बलियो जग तयार हुन्छ।

सपना निर्माण कल्पनाबाट सुरु हुन्छ, तर त्यसको जग यथार्थमा टेकिएको हुनुपर्छ।
मंगलसैनको वर्तमान अवस्थाले भोलिको सम्भावनालाई सशक्त आधार दिएको छ।

शिक्षा : भविष्य निर्माणको उज्यालो दीप

शिक्षा परिवर्तनको मूल चाबी हो। मंगलसैनमा सीपमुखी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको वातावरण निर्माण अनिवार्य छ।

प्रत्येक वडामा सीपमूलक तालिम, व्यावसायिक शिक्षा, आवासीय विद्यालय, उत्कृष्ट शिक्षक प्रशिक्षणको व्यवस्था गर्दै स्थानीय तहमै गुणस्तरीय शिक्षा दिन सकिन्छ। कालागाउँ क्याम्पस, अछाम बहुमुखी क्याम्पस, मंगला प्राविधिक विद्यालय र मंगलसैन बहुप्राविधिक शिक्षालयलाई आधुनिक, विशिष्टीकृत शैक्षिक केन्द्रका रूपमा विकास गर्नुपर्छ।

वालविकास केन्द्रको सुदृढ व्यवस्थापन, एक वडा–एक बाल स्याहार केन्द्र, ऐतिहासिक संग्रहालय र सार्वजनिक पुस्तकालय नगरको बौद्धिक सम्पत्ति बन्न सक्छ।

यातायात र पूर्वाधार : विकासको नशा

यातायात सहज भयो भने विकास आफैँ गतिमान हुन्छ। सडक, पुल, आवास, ऊर्जा, सिंचाइ र सूचना प्रविधिको योजनाबद्ध विकासले जनजीवनलाई सरल बनाउनु आवश्यक छ।

नगरका सबै वडा केन्द्र र कृषि सडकलाई स्तरीकरण, पिच तथा ग्राभेल गर्दै रिङ्गरोड, सुरक्षित सार्वजनिक यातायात, बजार पहुँच सहज बनाउने संरचना निर्माण गर्नुपर्छ।

सडक नक्सा, मर्मत–संभार कोष, चार लेन/छ लेन सडक, व्यवस्थित बजार र बस्ती विकासले मंगलसैनको स्वरूप नै बदल्न सक्छ।

सामाजिक विकास : सभ्य समाजको निर्माण

शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, युवा, खेलकुद, भाषा, साहित्य र संस्कृति सामाजिक विकासका आधारस्तम्भ हुन्।

बाल उद्यम केन्द्र, ज्येष्ठ नागरिक मिलन केन्द्र, खेलमैदान, सार्वजनिक कार्यक्रम स्थल, आपतकालीन सेवा केन्द्र, सामूहिक योगशाला, महिला सशक्तिकरण केन्द्र, फरक क्षमता भएका व्यक्तिका लागि ज्ञान केन्द्र, स्थानीय बाजा–भेषभूषा तथा सीप विकास केन्द्र स्थापनाले सुसंस्कृत समाज निर्माण सम्भव छ।

पुँजी र श्रम परिचालन : गाउँ फर्क अभियान

मंगलसैनले रोजगारीका अवसर सिर्जना गर्दै विदेश वा सहर केन्द्रित युवालाई स्थानीय तहमै रोक्न सक्नुपर्छ।
कृषि, पशुपालन, सहकारी, बैंक तथा वित्तीय क्षेत्रको सक्रिय परिचालन गर्दै पलायन भएको श्रमशक्तिलाई पुनः नगरमै जोड्न “गाउँ फर्क अभियान” आजको आवश्यकता हो।

यथार्थ चुनौती

सपना सबैले देख्छन्, तर पूरा तिनै गर्छन् जो दृढ इच्छाशक्ति, पारदर्शिता र इमानदारीका साथ अघि बढ्छन्।
व्यक्तिगत स्वार्थ, कुटिल राजनीति र चम्चा संस्कृतिले संस्थागत विकासमाथि शासन गरिरहँदा सपनाको नगर सुस्त देखिनु स्वाभाविक हो।

मंगलसैन नगर शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, उद्योग र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय संरचना र पहुँचसहित अघि बढिरहेको छ। हाल नगरभित्र दुई वटा क्याम्पस सञ्चालनमा छन् भने पाँच वटा उच्च माध्यमिक विद्यालय, छ वटा माध्यमिक विद्यालय, नौ वटा वालविकास केन्द्र, पाँच वटा वैकल्पिक शिक्षा केन्द्र, चार वटा निजी विद्यालय, एक वटा खुला विद्यालय तथा दुई वटा प्राविधिक शिक्षालयले शैक्षिक सेवा प्रदान गरिरहेका छन्।

कृषि क्षेत्रमा १५३ वटा कृषिसमूह सक्रिय छन्, जसले कृषिमा संगठित सहभागिता र आत्मनिर्भरता निर्माणको संकेत गर्दछ। पशु सेवातर्फ २९ वटा भैँसी फर्म, ८ वटा बाख्रा फर्म, १२ वटा पशुपालन समूह, १० वटा मासु पसल तथा ४ वटा दुग्ध डेरी सञ्चालनमा रहेका छन्।

उद्योग तथा व्यापारतर्फ विभिन्न उद्देश्यका ४९३ वटा व्यवसाय दर्ता भई सञ्चालनमा रहेका छन्, जसले नगरको आर्थिक गतिविधि विस्तार हुँदै गएको पुष्टि गर्दछ।

स्वास्थ्य सेवामा जिल्ला अस्पताल एक वटा, आयुर्वेद स्वास्थ्य केन्द्र एक वटा, आधारभूत स्वास्थ्य केन्द्र छ वटा, स्वास्थ्य चौकी सात वटा, शहरी स्वास्थ्य केन्द्र चार वटा, एक वटा पोलिक्लिनिक र पाँच वटा स्वास्थ्य क्लिनिक सञ्चालनमा छन्। यससँगै ११६ जना महिला स्वास्थ्य स्वयंसेविकाले समुदायस्तरमा स्वास्थ्य सेवा सुदृढ बनाइरहेका छन्।

सहकारी क्षेत्रअन्तर्गत सात वटा बचत तथा ऋण सहकारी, ११ वटा बहुउद्देश्यीय सहकारी, पाँच वटा बहुउद्देश्यीय तथा कृषि सहकारी र तीन वटा उपभोक्ता सहकारी गरी जम्मा २६ वटा सहकारी संस्थाहरू क्रियाशील छन्।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत ७० वर्ष माथिका १,८६८ जना ज्येष्ठ नागरिक, ६० वर्ष माथिका ६९२ जना ज्येष्ठ नागरिक, ५८९ जना एकल महिला, २,५६८ जना बालबालिका तथा फरक क्षमता भएका (क वर्ग) १६ जना र (ख वर्ग) ८८ जना लाभान्वित छन्।

यस नगरभित्र ३८ वटा सरकारी कार्यालय र १० वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहनुले मंगलसैन सेवा, सुशासन र आर्थिक पहुँचको दृष्टिले सुदृढ बन्दै गएको स्पष्ट देखिन्छ।

अन्त्यमा

मंगलसैन परिवर्तन हुन सक्छ—र अवश्य हुनेछ।
तर त्यो परिवर्तन दूरदृष्टि, इमानदार नेतृत्व र सक्रिय नागरिक सहभागिताबाट मात्र सम्भव छ।
हाम्रो सानो योगदान र ठूलो सोचको संगमले मात्र
“मेरो सपनाको नगर—मंगलसैन”
कल्पनाबाट वास्तविकतामा रूपान्तरण हुनेछ।