अछामको कमलबजार नगरपालिका वडा नं. ३ बयालाका नागरिकहरूले पालिकाबाट आफूहरूलाई सौतेनी व्यवहार गरिएको गुनासो गरेका छन्। पालिकाले हरेक अवसरमा वडालाई उपेक्षा गर्दै आएको भन्दै स्थानीयवासीहरूले आपत्ति जनाएका हुन्।
पालिकामा हुने विभिन्न गतिविधि तथा विकास निर्माणका काममा अन्य वडाको तुलनामा बयालालाई पछाडि पारिएको स्थानीयको आरोप छ। भौगोलिक रूपमा नगरपालिका केन्द्रबाट टाढा रहेका वडालाई प्राथमिकता दिनुपर्ने भए पनि त्यसो नभएको भन्दै उनीहरूले पालिकाले गर्ने विभेदको अन्त्य गर्न माग गरेका छन्। माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनीसमेत दिएका छन्।
शुक्रबार वडामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले वडाका सबै टोलमा अझै विद्युतिकरण हुन नसकेको, पालिका–वडा जोड्ने सडकको अवस्था दयनीय रहेको र विकास निर्माणका लागि आउने बजेटमा समेत विभेद भएको बताएका छन्। साथै हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नेरा माविलाई उपेक्षा गरिएको आरोप पनि लगाएका छन्।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता हर्कबहादुर भण्डारीले कमलबजार नगरपालिकाबाट वडा नं. ३ निरन्तर उपेक्षामा परेको गुनासो गर्नुभयो। शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा पनि वडा पछाडि पारिएको उहाँको भनाइ थियो। स्थानीय सरकारले नागरिकको मन जित्ने गरी काम गर्न नसकेको र साना–साना समस्यासमेत समाधान नहुँदा जनप्रतिनिधिप्रति नागरिकको आक्रोश बढ्दै गएको उहाँले बताउनुभयो।
कार्यक्रममा नेकपा एमालेका खकेन्द्र भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका नेता बखत ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका चेतराज ढकाल, नेरा माविका प्रधानाध्यापक दीर्घबहादुर भण्डारी, स्थानीय युवा योगेश ढकाल, मान्त ढकाल लगायतले मन्तव्य राख्दै पालिका र वडाले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। आगामी दिनमा पनि यस्तै विभेद जारी रहे चुप लागेर नबस्ने चेतावनी दिँदै चुनावका बेला जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेका थिए।
स्थानीय युवा प्रकाशबहादुर शाहीले वडा नं. ३ का अधिकांश टोलमा अझै विद्युत् बाल्न नसकिएको गुनासो गर्नुभयो। अन्य वडामा विद्युतिकरण सम्पन्न भइसके पनि बयालामा नागरिकहरू अझै अँध्यारोमै बस्न बाध्य भएको उहाँको भनाइ छ। पोलसमेत नआउने र आएका पोल पनि पहुँच भएका वडामा मात्र लगिने गरेको भन्दै विकट वडालाई नगरपालिकाले पहिलो प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
स्थानीय समाजसेवी दलबहादुर थापाले स्थानीय सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। वडाका काममा केही सीमित व्यक्तिको मात्र प्रभाव रहने र सार्वजनिक कार्यक्रमहरू कोठाभित्र सीमित हुँदा नागरिकहरू सूचनाबाट वञ्चित हुने गरेको उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै कमलबजार नगरपालिका उपप्रमुख सारदा बिष्ट कुँवरले अधिकांश स्थानीयले पालिकाबाट वडालाई सौतेनी व्यवहार भएको गुनासो गरे पनि आफू त्यसलाई स्वीकार गर्न तयार नभएको बताउनुभयो। पालिकाको नजरमा सबै वडा समान रहेको भन्दै कतै कमजोरी भए आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो। चुनावका बेला जनाइएका प्रतिबद्धता कार्यान्वयनकै चरणमा रहेकाले बाँकी योजनाहरू कार्यकालभित्रै सम्पन्न गर्ने दाबी पनि गर्नुभयो।
विशिष्ट अतिथि पूर्व वडा अध्यक्ष जगतबहादुर बिष्टले जनप्रतिनिधिहरू राजनीतिक आस्थाको आधारमा प्रस्तुत हुन नहुने बताउँदै यसतर्फ सचेत हुन सुझाव दिनुभयो।
सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिँदै वडा अध्यक्ष नन्दसिंह कुँवरले वडाको सीमित स्रोतसाधनका बाबजुद जनताको पक्षमा काम गरेको दाबी गर्नुभयो। नागरिकका अपेक्षा धेरै भए पनि स्रोतसाधन सीमित भएकाले सबै माग पूरा गर्न नसकिएको स्पष्ट पार्नुभयो। पारदर्शी रूपमा काम गरिरहेको भन्दै आगामी दिनमा नागरिकका सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कर्मचारी टेकबहादुर बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव वीरेन्द्र भण्डारीले गर्नुभएको थियो।






















प्रतिक्रिया