अछाम : जिल्लाको ढकारी गाउँपालिकामा अन्तरविद्यालयस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई उपहारस्वरूप दुईकोठे पक्की विद्यालय भवन प्रदान गरिने भएको छ।
बुडासैन खेलमैदानमा आयोजित उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदले खेलकुद क्षेत्रको विकास र विद्यार्थी खेलाडीको हौसला अभिवृद्धि गर्ने उद्देश्यले यस्तो प्रोत्साहनको व्यवस्था गरिएको जानकारी दिए।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ढकारी गाउँपालिकाभित्रका नौ विद्यालयका २१० छात्र र २०७ छात्रा गरी जम्मा ४१७ खेलाडी सहभागी छन्। प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, त्रिपल जम्प, सटपुट तथा ३०००, १५००, ८००, ४००, २०० र १०० मिटर दौड गरी जम्मा ३० इभेन्टमा प्रतिस्पर्धा गराइने छ।
युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टंकबहादुर साउदले प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा खेल क्षेत्रको विकासका लागि थप पहल गरिने बताए।
प्रतियोगिताको समापन यही पुस २७ गते हुने आयोजकले जनाएको छ।



























प्रतिक्रिया