मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन

मंगलसेनमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन


अछामको मंगलसेन नगरपालिकामा पालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष बृर्खबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख बोहराले मंगलसेनको खेलमैदानलाई नमुना खेलमैदानको रूपमा विकास गर्न आफू निरन्तर प्रयासरत रहेको बताउनुभयो। खेलमैदान निर्माणमा नगरपालिकाबाट ठूलो रकम खर्च भइसके पनि अझै पूर्णता दिन नसकिएको उल्लेख गर्दै उहाँले प्रदेश र संघीय सरकारसँग पटक–पटक बजेटको माग गरिए पनि अपेक्षित सहयोग नपाएको बताउनुभयो। नगरपालिकाको स्रोतले मात्रै यस्तो ठूलो पूर्वाधार निर्माण गर्न कठिन भएकाले सबै तहको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो। यस वर्ष पनि खेलमैदान स्तरोन्नतिका लागि बजेट विनियोजन भएकाले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै नगर उप–प्रमुख संगीता रावल सोडारीले विभिन्न चुनौतीका बाबजुद पनि मंगलसेनका खेलाडीहरूले गत वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको स्मरण गराउँदै यस वर्ष पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन आग्रह गर्नुभयो। नमुना खेलमैदान निर्माणका लागि उल्लेखनीय लगानी भइसके पनि निर्माण कार्य अझै पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले यस्ता गौरवका आयोजनामा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो।

उद्घाटन कार्यक्रममा पूर्व नगर उप–प्रमुख सरिता उपाध्याय, विभिन्न वडाका वडा अध्यक्षहरू, नेपाली काँग्रेसका नगर कार्यवाहक सभापति हेमराज भण्डारी, नेकपा एमाले नगर कमिटी अध्यक्ष डम्बरबहादुर रावल, नेपाली कम्युनिष्ट पार्टीका युवा नेता शिवबहादुर बोगटी, नेकपा माओवादीका युवा नेता दिपेन्द्र जैगडी, नगरभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वडा नं. ५ का अध्यक्ष झंकरप्रसाद भाटको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिपक भण्डारीले गर्नुभएको थियो।