अछामको साँफेबगर नगरपालिकामा माध्यमिक स्तरीय चौथो नगर प्रमुख कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ। नगर खेलकुद विकास समितिका अध्यक्ष अनिल कुँवरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कुँवरले खेलकुद क्षेत्रमा स्थानीय सरकारको अतिरिक्त अन्य क्षेत्रबाट पनि लगानी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। खेलकुदले शरीरलाई मात्र बलियो बनाउने नभई जीवनका महत्वपूर्ण मूल्यहरू—अनुशासन, परिश्रम र सहिष्णुता—विकास गर्ने प्रभावकारी माध्यम भएको उहाँको भनाइ थियो।
साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले उक्त प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्ने सम्भावना रहने उल्लेख गर्दै उहाँले खेलाडीहरूलाई आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो।
नगर उप–प्रमुख शिवबहादुर कुँवर शिलोजले विद्यालय तहका प्रतिभावान खेलाडीको पहिचान गर्दै स्वास्थ्य, अनुशासन र खेल भावना विकास गर्ने उद्देश्यले नगर प्रमुख कपलाई राष्ट्रपति रनिङ शिल्ड छनोटसँग जोडिएको बताउनुभयो। क्षमतावान खेलाडीको पहिचान गरी नगरपालिकाले अपनत्व ग्रहण गर्ने नीति रहेको उहाँको भनाइ थियो।
नगर खेलकुद विकास समितिका अध्यक्ष अनिल कुँवरले खेलकुदले विद्यालयहरूबीच आपसी चिनजान र भाइचाराको सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण माध्यमको रूपमा काम गर्ने बताउनुभयो।
प्रतियोगिता अन्तर्गत भलिबल, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट तथा ३०००, १५००, ८००, ४००, २०० र १०० मिटर दौड गरी जम्मा ३० विधामा प्रतिस्पर्धा गराइने छ। जारी प्रतियोगिताअन्तर्गत २०० र ४०० मिटर दौडमा सुर्यचन्द्र माध्यमिक विद्यालयले दुई स्वर्ण पदक जितेको छ।
उद्घाटन कार्यक्रममा साँफेबगर नगरपालिकाका निवर्तमान उप–प्रमुख विर्मलादेवी वुढाथापा, नेपाली काँग्रेसका नगर सभापति लालबहादुर कुँवर, नेकपा एमाले नगर कमिटी अध्यक्ष हिरण्ड कुँवर, नेपाली कम्युनिष्ट पार्टीका नेता रंग ठकुल्ला, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति मानबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खड्क वुढा लगायतले मन्तव्य राख्नुभएको थियो।
नगर खेलकुद विकास समितिका सदस्य नवराज वुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्टले गर्नुभएको थियो।



























प्रतिक्रिया