मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन–२ छायतडामा लिफ्ट सिचाइ योजनाको शिलान्यास

मंगलसेन–२ छायतडामा लिफ्ट सिचाइ योजनाको शिलान्यास


अछामको मंगलसेन नगरपालिका वडा नम्बर २ स्थित छायतडामा छायतडा लिफ्ट सिचाइ योजनाको शिलान्यास गरिएको छ। आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहराले योजनाको औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो।

वडा नम्बर २ र ३ का स्थानीय नागरिकहरूको वर्षौंदेखिको सिचाइ समस्यालाई समाधान गर्ने उद्देश्यले योजनाको निर्माण कार्य सुरु गरिएको मंगलसेन नगरपालिकाले जनाएको छ। मंगलसेन नगरपालिका र वैकल्पिक नवीकरणीय ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा करिब २ करोड रुपैयाँको लागतमा योजना निर्माण हुन लागेको हो।

सिचाइ योजना सम्पन्न भएपछि वडा नम्बर २ र ३ का किसानहरूको करिब ३ सय रोपनी खेतीयोग्य जमिनमा सिचाइ सुविधा पुग्ने वडा नम्बर २ का अध्यक्ष देबेन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो। उहाँका अनुसार यस क्षेत्रको सबैभन्दा ठूलो समस्या सिचाइको अभाव नै रहेको र नगरपालिकाको पहलमा योजना निर्माण हुन थालेपछि स्थानीय किसानहरू निकै उत्साहित भएका छन्।

गाउँ नजिकै बुढीगंगा नदी बग्ने भए पनि नदीको पानी माथिल्लो भू–भागमा ल्याउन सम्भव नभएकाले लिफ्ट प्रविधिको प्रयोग गरेर सिचाइ गरिने अध्यक्ष बोगटीले बताउनुभयो।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले उर्वर भूमिका रूपमा चिनिएको छायतडालाई थप उर्वर बनाउने लक्ष्यका साथ योजना अगाडि बढाइएको बताउनुभयो। उहाँले ढिलो भए पनि स्थानीयको मागअनुसार सिचाइ योजना निर्माण प्रक्रिया सुरु गरिएको उल्लेख गर्दै समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो। साथै, यस क्षेत्र सबै प्रकारका खाद्यान्न उत्पादनका लागि उपयुक्त भएकाले पानीको सही सदुपयोग गरी उत्पादन बढाउन किसानहरूलाई आग्रह गर्नुभयो।

शिलान्यास कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, जिल्ला प्रहरी प्रमुख ओमप्रकाश खनाल, अनुसन्धान अधिकृत अशोक पौडेल, मंगलसेन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटी, वडा नम्बर ५ का अध्यक्ष झंकरप्रसाद भाट, वडा नम्बर ६ का अध्यक्ष देबेन्द्रप्रसाद भण्डारी, वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहरा, वडा नम्बर १३ का अध्यक्ष हिक्मतबहादुर बोगटी, वडा नम्बर २ का निवर्तमान अध्यक्ष मानबहादुर बोगटी, प्राविधिक हिरण्डबहादुर बोगटी, स्थानीय अगुवा खेमबहादुर बोगटी, पुरन बोगटी लगायतको उपस्थिति रहेको थियो।