तुर्माखाँद, अछाम | पुस २८, २०८२
अछामको तुर्माखाँद गाउँपालिकामा सञ्चालित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज विशेष समारोहका बीच सम्पन्न भएको छ। पुस २४ गतेदेखि तुर्माखाँद गाउँपालिका–३ स्थित श्री बसुन्धरा माध्यमिक विद्यालय, थाल्पाटाको खेल मैदानमा सुरु भएको प्रतियोगिताको विधिवत् समापन गरिएको हो।
समापन समारोह तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष काशिराम बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बि.सी. प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाही विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। प्रतियोगिताको संयोजन राष्ट्रिय भलिबल रेफ्री लोकेन्द्र बहादुर साउँदले गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष बि.सी.ले खेलकुदले विद्यार्थीको शारीरिक विकास, अनुशासन र नेतृत्व क्षमतामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले गाउँपालिकाले खेल क्षेत्रको विकास तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहनका लागि आगामी दिनमा थप कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतियोगितामा श्री बसुन्धरा माध्यमिक विद्यालय, थाल्पाटाले ८ स्वर्ण, २ रजत र २ कास्य पदकसहित कुल १२ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै, कालिकेश्वरी माध्यमिक विद्यालय, तुर्माखाँदले ५ स्वर्ण, ५ रजत र ७ कास्य गरी कुल १७ पदकसहित दोस्रो स्थान तथा सिद्धेश्वरी माध्यमिक विद्यालय, धमालीले ४ स्वर्ण, ३ रजत र ७ कास्यसहित कुल १४ पदक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ। कामेश्वरी माध्यमिक विद्यालय, रानिवनले ४ स्वर्ण र १ रजतसहित सान्त्वना स्थान प्राप्त गरेको छ।
प्रतियोगिताभर कूल २६ स्वर्ण, २६ रजत र ३० कास्य गरी जम्मा ८२ पदकका लागि प्रतिस्पर्धा भएको थियो। विजयी खेलाडी तथा विद्यालयहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र कार्यक्रम अध्यक्षले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
समापन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।






















प्रतिक्रिया