अछाम । तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले आफ्नो सेवा–सुविधाबाट विद्यालयका विद्यार्थीलाई नगद सहयोग प्रदान गर्नुभएको छ।
गाउँपालिका–३ भैरबस्थानमा रहेको बसुन्धरा माध्यमिक विद्यालयको ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा अध्यक्ष बिसीले कक्षा १ देखि १२ सम्म अध्ययनरत जेहेन्दार तथा उत्कृष्ट १२ जना विद्यार्थीलाई नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको हो।
अध्यक्ष बिसीले आफू निर्वाचित भएपछि प्राप्त हुने मासिक सेवा–सुविधाबाट एक महिनाको रकम बराबर जनही २ हजार ५ सय रुपैयाँका दरले कुल ३० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ।
राजनीतिक भाषण र औपचारिक प्रतिबद्धताभन्दा बाहिर निस्केर शिक्षा क्षेत्रमा प्रत्यक्ष सहयोग गरिएको यस कदमले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाएको विद्यालय स्रोतको भनाइ छ। स्वर्ण जयन्तीको अवसरमा गरिएको यो सहयोगलाई स्थानीय समुदायले शिक्षाप्रति जिम्मेवार नेतृत्वको स्पष्ट उदाहरणका रूपमा लिएका छन्।
यसैगरी, अध्यक्ष बिसीले गाउँपालिकाको कुल बजेटमध्ये करिब आधा बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुभएको छ। निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै आउनुभएका बिसीको यो पहलले पालिकाभित्र विद्यालय शिक्षाको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
























प्रतिक्रिया