अछाम ः जिल्लामा फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै दलहरुले राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन्। प्रमुख दलहरू उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटिरहेका बेला टिकट वितरणलाई लिएर जिल्लामा चर्चा र अड्कलबाजी व्यापक बनेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी, रास्वपा लगायतका दलहरुले उम्मेद्धवार टुग्याउनेक्रममा रहेका छन् । एमालेको तर्फबाट अछाम १ मा सुर्य चिन्ह लिएर दिपक साँउद चुनाव लड्ने निश्चित भएको छ । यसअघि झपट बोहराको नाम आएपछि अनितम चरणमा प्रलोपा र एमालेबिच गठबन्धन हुदाँ साँउदले बाजी मारेका हुन् । क्षेत्र नं. २ मा भने अघिल्लो निर्वाचनकै उम्मेद्धार यज्ञ बोगटीलाई पार्टीले टिकट दिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट क्षेत्र नं. १ मा भिम रावल र २ मा सरद सिंह भण्डारीले टिकट लिएका छन् ।
नेपाली कांग्रेसले भने अहिले सम्म टिकट टुंग्यान सकेको छैन् । यद्यपी निर्वाचन क्षेत्र नं. १ मा भने भरत स्वाँरले टिकट पाउने लगभग निश्चित देखिएको छ। पार्टीभित्र र बाहिर दुवै तहमा उनको उम्मेदवारीलाई बलियो मानिँदै आएको छ। यसै निर्वाचन क्षेत्रमा राजन कुँवरको नाम पनि चर्चामा रहेकाले अन्तिम निर्णय पछि मात्रै टिकट एकिन हुनेछ ।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा भने अझै टुंगो लाग्न सकेको छैन। तर सम्भावित उम्मेदवारका रूपमा पुष्पराज शर्मा, पदम अधिकारी र वेदप्रकाश तिमिलसैनाको नाम चर्चामा छ। यी तीनै जना आ–आफ्नो राजनीतिक पकड, संगठनात्मक अनुभव र स्थानीय पहुँचका कारण प्रतिस्पर्धी मानिएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार उम्मेदवार चयनसँगै अछामको निर्वाचन माहोल थप तातिने निश्चित छ। स्थानीय तहमा विकास, रोजगारी, स्वास्थ्य र पूर्वाधारका मुद्दा प्रमुख एजेन्डाका रूपमा उठ्ने संकेत देखिएको छ।
फागुन २१ नजिकिँदै जाँदा पार्टीका शीर्ष नेतृत्वका निर्णय, आन्तरिक समीकरण र गठबन्धनको अवस्थाले निर्वाचनको दिशा तय गर्ने देखिन्छ। उम्मेदवारको औपचारिक घोषणा भएसँगै अछामको चुनावी प्रतिस्पर्धा अझ स्पष्ट र तीव्र हुने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया