अछामः बयालपाटा प्रादेशिक अस्पतालमा पाँच महिनापछि पुनः स्वास्थ्य बिमा सेवा सुचारु भएको छ । माघ १ गतेदेखि लागू हुने गरी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा आएको हो ।
यसअघि न्याय हेल्थ नेपालद्वारा व्यवस्थापन हुँदै आएको बयालपाटा अस्पताल भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार मातहत आएपछि अस्पतालमा स्वास्थ्य बिमा सेवा अवरुद्ध भएको थियो ।
आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि माघ १ गतेदेखि पुनः स्वास्थ्य बिमा सेवा सुचारु गरिएको बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा. मन्दीप पाठकले जानकारी दिए ।
उनका अनुसार करिब पाँच महिनासम्म बन्द रहेको स्वास्थ्य बिमा सेवा अहिले पूर्ण रूपमा सञ्चालनमा आएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत अस्पताल सञ्चालनमा आएपछि सरकारी मापदण्ड अनुसार उपचार शुल्क लाग्ने व्यवस्था गरिएको थियो ।
तर अब स्वास्थ्य बिमा गरेका बिरामीहरूले अस्पतालमा निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन् । माघ १ गतेदेखि स्वास्थ्य बिमा सेवा सुरु भएयता पाँच दिनको अवधिमा ७० जनाभन्दा बढी सेवाग्राहीहरूले बिमा अन्तर्गत उपचार सेवा लिइसकेका छन् ।
यससँगै अस्पतालमा सामाजिक सुरक्षा इकाइ अन्तर्गतका सेवाहरू पनि सुचारु गरिएको छ । अति विपन्न, असहाय तथा अपाङ्ग बिरामीहरूलाई वडा तथा स्थानीय तहको सिफारिसका आधारमा उपचार सेवामा सहुलियत प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ ।
यस्तै अस्पतालमा चौबिसै घण्टा निशुल्क तथा शसुल्क फार्मेसी सेवा समेत सुचारु भएको छ ।






















प्रतिक्रिया