अछामको साँफेबगर नगरपालिका–१३, बाब्लाको ठाडागडमा बिरामी परेका भेडाको उपचार गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको टोलीले चरीचरनका लागि अछाम आएका बाजुराका किसानका बिरामी भेडाको उपचार गरेको हो।
एक हप्ता अघिदेखि भेडामा इन्ट्रो टोक्सेमिया रोग देखिन थालेपछि धमाधम भेडा मर्न थालेका थिए। अवस्था गम्भीर बनेपछि विज्ञ केन्द्र अछामका प्रमुख वाल्मीकि प्रसाद जोशीको नेतृत्वमा पशु चिकित्सकसहितको टोली ठाडागड पुगेर ४० भन्दा बढी बिरामी भेडाको उपचार गरेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख जोशीका अनुसार बिरामी भेडाहरूलाई मेलेक्सिक्याम इन्जेक्सन, एम्पीसिलिन इन्जेक्सन, क्रामाइन इन्जेक्सन तथा एट्रोपिन सल्फेट सुई लगाइएको छ।
धेरै मिहिनेत गरेर पालेका भेडा एकाएक मर्न थालेपछि चिन्तित बनेका किसानहरू भेडाको उपचारपछि खुसी भएका छन्। पशु चिकित्सक डाक्टर दीपक आचार्यका अनुसार सधैं हिमाली भेगमा चर्ने भेडाहरूमा चरीचरनको वातावरण फरक हुँदा रोग देखा परेको हो र औषधि दिएपछि अब भेडाको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आउने विश्वास गरिएको छ।
भेडापालक किसान मनशेर बुढाले विभिन्न ठाउँमा गुहार माग्दा पनि सुनुवाइ नभएपछि अछामको भेटेरीनरी अस्पतालले आफ्नो पीडामा मलहम लगाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “ठूलो दुःख–कष्ट गरेर पालेका भेडाहरू हुन्, यही व्यवसायबाट परिवार पालिरहेका छौं। भेडाहरू यसरी रोगका कारण मर्न थालेपछि निद्रा र भोक दुवै हराएको थियो।”
भेडापालक किसानहरूलाई सुझाव दिँदै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामका कार्यालय प्रमुख वाल्मीकि प्रसाद जोशीले इन्ट्रो टोक्सेमिया रोगका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै किसान स्वयं पनि अग्रसर भई समन्वय र सहकार्यमा काम गर्नुपर्ने बताउनुभयो। कार्यालयमा जनशक्तिको अभावका कारण सबै ठाउँमा तत्काल सेवा दिन कठिनाइ भए पनि समस्या देखिएको स्थानमा आफै खट्ने गरेको उहाँको भनाइ छ।
यस्तै, पशु प्राविधिक करन महताले जिल्लाका केही स्थानमा पशुमा रेबीज रोग देखिन थालेकाले यसको रोकथामका लागि कार्यालय सक्रिय रूपमा काम गरिरहेको जानकारी दिनुभएको छ।






















प्रतिक्रिया