अछाम ।
राजनीतिमा धेरै नेता भाषणमा देखिन्छन्, सामाजिक सञ्जालमा भेटिन्छन्, तर जनताको घरआँगन र दुःख–सुखमा सँगै हिँड्ने नेता विरलै पाइन्छन्। अछाम क्षेत्र नं. १ मा त्यस्तै एक नाम हो— भरतकुमार स्वाँर। जो गाउँ–टोल, चौतारा र खेतबारीमै सहजै भेटिने नेताका रूपमा चिनिन्छन्।
वि.सं. २०१२ सालमा अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटमा बुवा स्व. चक्रबहादुर स्वाँर र आमा जमुनादेवी स्वाँरको कोखबाट जन्मिनुभएका स्वाँरले प्राथमिक शिक्षा बयालपाटाको महेन्द्र माध्यमिक विद्यालयबाट हासिल गर्नुभयो। विद्यार्थी जीवनदेखि नै चेतनशील, विद्रोही र परिवर्तनमुखी स्वभावका उहाँले डोटी क्याम्पस, सिलगढीमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा बहुदल र प्रजातन्त्रको पक्षमा आफ्ना आवाज बुलन्द पार्नुभयो।
आन्दोलन, जेल र संघर्षको जीवन
वि.सं. २०३१ सालदेखि निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय स्वाँर २०३४ सालमा नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गर्नुभयो। २०३६ सालको साँफेबगर पञ्चायतविरोधी आन्दोलन तथा सदरमुकाम बयालपाटाबाट मंगलसेन सार्ने निर्णयविरुद्ध भएको ऐतिहासिक आन्दोलनको कमाण्ड स्वयं स्वाँरले नै सम्हाल्नुभएको थियो।
तत्कालीन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईबाट क्रियाशील सदस्यता प्राप्त गर्नुभएका स्वाँर आन्दोलनकै क्रममा गिरफ्तारीमा पर्नुभयो, जसका कारण उहाँ उच्च शिक्षा पूरा गर्नबाट वञ्चित बन्नुभयो। तर शिक्षा रोकिन्छ, विचार रोकिँदैन भन्ने उदाहरण उहाँको जीवनले प्रमाणित गर्छ।
स्वाँर २०३६ को आन्दोलन, २०४२ को सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को दोस्रो जनआन्दोलनमा अछामको नेतृत्वदायी भूमिकामा रहनुभयो। २०३८ देखि २०४६ सम्मका वर्षहरू उहाँका लागि जेल, यातना र संघर्षका वर्ष बने। बाजुरा र अछामका विभिन्न कारागारमा बिताएका ती दिनहरूले उहाँलाई अझ जनमुखी बनाए।
परिवर्तनका काम, जनताका लागि राजनीति
२०४३ सालमा अछामलाई मदिरा निषेधित जिल्ला घोषणा गर्न स्वाँरको भूमिका ऐतिहासिक रह्यो। २०४६ पछिको परिवर्तनपछि २०४९ सालमा जिल्ला विकास समिति अछामको सभापतिमा निर्वाचित स्वाँरले जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र रोजगारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभयो।
जिल्ला विकास समिति सभापतिका रूपमा स्वाँरका उल्लेखनीय कामहरू:
- जनता क्याम्पस, बयालपाटा स्थापना
- १४८ विद्यालयको स्थापना तथा स्तरोन्नति
- जिल्लाको सडक गुरुयोजना र सडक निर्माणको सुरुवात
- लोकसेवाबाट स्वीकृत ६५० शिक्षकको स्थायी दरबन्दी
- बुढीगंगा, कैलास खोला सिंचाइ योजना निर्माण
- ५५ गा.वि.स.मा स्वास्थ्य चौकी स्थापना
- कैलास खोला साना जलविद्युत आयोजना
- महिला, दलित र पिछडिएका वर्गका लागि साक्षरता अभियान
- बालअधिकार र छाउपडी प्रथाविरुद्ध अभियान
- ७५ गा.वि.स.मा सहायक प्राविधिक दरबन्दी र ५८५ जनालाई रोजगारी
- महिला हिंसा, घरेलु हिंसा र एचआईभी/एड्सविरुद्ध जनचेतना अभियान
यसका अतिरिक्त बयालपाटा अस्पताल, बुढीगंगा हाइड्रोपावर, सेती राजमार्ग, धार्मिक तथा पर्यटन विकासमा पनि स्वाँरको नेतृत्वदायी भूमिका रहेको छ।
जनताबीचको नेता
धेरै नेता चुनावपछि जिल्लामा देखिन गाह्रो हुन्छ। तर भरतकुमार स्वाँर त्यस्ता नेता होइनन् वर्षका ३६५ दिनमध्ये ३६० दिन अछामकै गाउँ–टोलमा भेटिने स्वाँर हरेक वर्ग, समुदाय र दुःखीका साथी हुन्। सादा जीवन, उच्च विचार र क्रान्तिकारी चेतनाका धनी स्वाँर आज पनि उस्तै सरल छन्, जति संघर्षका दिनमा थिए।






















प्रतिक्रिया