अछाम : प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह अहिले घरदैलो अभियानमार्फत जनताको बीचमा व्यस्त छन्। अछाम क्षेत्र नं. २ अन्तर्गत तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका विभिन्न वडाहरूमा उनले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
नेपाली कांग्रेस अछामका नेता–कार्यकर्ताको बाक्लो उपस्थितिसहित उम्मेदवार शाहले घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। गाउँ–गाउँ, टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो विगतका काम, वर्तमान प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराइरहेका छन्।
घरदैलोका क्रममा मतदाताबाट प्राप्त माया, साथ र विश्वासले आफूलाई थप ऊर्जा मिलेको शाहले बताएका छन्। “जनताले देखाएको भरोसाले मलाई अझ जिम्मेवार बनाएको छ,” उनले भने, “मैले सुरु गरेका अधुरा कामहरू पूरा गर्दै नयाँ योजनाका साथ अछामको विकासलाई तीव्र गति दिने संकल्प गरेको छु।”
देशमा जब–जब जटिल र अप्ठेरो परिस्थिति सिर्जना भएको छ, तब–तब नेपाली कांग्रेसले नै जिम्मेवारीपूर्वक नेतृत्व सम्हाल्दै मुलुकलाई सही दिशा दिएको उल्लेख गर्दै शाहले अछाम क्षेत्र नं. २ को समग्र विकासका लागि पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन्। “अछामको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई अगाडि बढाउन कांग्रेसको सरकार अपरिहार्य छ,” उनले जोड दिए।
घरदैलो अभियानका क्रममा नागरिकहरूले विकास निर्माण, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचको अपेक्षा राखेको उनले बताए। ती अपेक्षालाई व्यवहारमा रूपान्तरण गर्न आफू प्रतिबद्ध रहेको शाहको भनाइ छ।
“म जहाँ पुगे पनि नागरिकले मलाई विश्वास गर्नुभएको छ,” शाहले भने, “त्यो विश्वास र भरोसाले मलाई उत्साहित मात्र बनाएको छैन, अझ दृढ बनाएको छ। अधुरा कामहरू पूरा गर्न र अछाम २ लाई समृद्धिको मार्गमा लैजान यसपटकको निर्वाचनमा म विजयी हुने विश्वास लिएको छु।”
कांग्रेस आफूलाई समयअनुसार परिवर्तन गर्दै देश परिवर्तनको अभियानमा अघि बढिरहेको दाबी गर्दै शाहले यसपटक अछाम क्षेत्र नं. २ का मतदाताले पनि स्थायित्व, विकास र सुशासनका पक्षमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए।
नेपाली कांग्रेस अछामका अनुसार क्षेत्र नं. २ को घरदैलो अभियान अब पञ्चदेवल विनायक हुँदै मंगलसेन नगरपालिका र तुर्माखाँदका बाँकी रहेका केही वडाहरूमा सञ्चालन गरिने बताईएको छ।
घरदैलोमा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार टेकबहादुर बिक, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताको उपस्तिथि रहेको छ ।






















प्रतिक्रिया