मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी–८ घोडासैनको लन्चुमा कांग्रेसको घरदैलो कार्यक्रम सम्पन्न

ढकारी–८ घोडासैनको लन्चुमा कांग्रेसको घरदैलो कार्यक्रम सम्पन्न

फागुन २१ को मतदानमा रुख चिन्हलाई जिताउने दाबी


अछाम – नेपाली कांग्रेस अछाम निर्वाचन क्षेत्र नं. २ ले चुनाव केन्द्रित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम ढकारी गाउँपालिका वडा नं. ८ घोडासैनको लन्चुमा सम्पन्न गरेको छ। वडा कार्यसमितिका सभापति भोजराज उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस अछामका सभापति तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाहले ढकारी क्षेत्रको दिगो विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। उनले कमलबजार–ढकारी जोड्ने सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाइसकेको, खानेपानी आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरिएको र ग्रामीण क्षेत्रको समग्र विकासका लागि निरन्तर पहल भइरहेको जानकारी गराए।

“मैले गरेका विकासका प्रयासबारे यहाँका जनता र मतदाताले राम्रोसँग बुझ्नुभएको छ,” उनले भने, “आगामी फागुन २१ गते हुने मतदानमा नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरी भारी मतले विजयी गराउनुहुनेछ भन्नेमा विश्वस्त छु। कुनै भ्रम र हल्लामा नलाग्न म सबैमा आग्रह गर्दछु।”

त्यसैगरी, नेपाली कांग्रेसका समानुपातिकतर्फका उम्मेदवार टेक बहादुर विकले आफू नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेको उल्लेख गर्दै अछामका युवाहरूले रुख चिन्हमा मतदान गरी विजयी गराउने विश्वास व्यक्त गरे। उनले संविधानको रक्षा, संघीयताको सफल कार्यान्वयन तथा सबै वर्ग र क्षेत्रको हितका लागि नेपाली कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताए।

कार्यक्रममा क्षेत्रीय सभापति पुष्प शर्माले ग्रामीण जनताको भावना बुझेका र विकासप्रति प्रतिबद्ध उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। महासमिति सदस्य पदमराज अधिकारीले नेपाली कांग्रेसको नेतृत्वमा मात्र सबै वर्ग र क्षेत्रका समस्या समाधान सम्भव रहेको दाबी गर्दै पार्टीका उम्मेदवारलाई जिताउन नेता–कार्यकर्तालाई सक्रिय हुन आह्वान गरे।

कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्षेत्रीय र नगर कार्यसमितिका प्रतिनिधि, जनप्रतिनिधि, वडा कार्यसमितिका सदस्य तथा विभिन्न भातृ संस्थाका प्रमुखहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नं. २ मा चुनावी अभियानलाई तीव्र बनाउँदै विभिन्न वडामा घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।