धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित केयरटेकर अस्पताल प्रालिको औपचारिक शुभारम्भ गरिएको छ।
सर्वसाधारणलाई किफायती तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित भगवान् गणेशको शुभ साइत पारेर मंगलवारबाट औपचारिक शुभारम्भ गरिएको हो।
पत्रकार सम्मेलन गरेर अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीले अस्पतालको सेवासुविधाबारेमा जानकारी दिए। उनले स्वास्थ्य सेवा पैसाको पहुँचमा सीमित हुनु नहुने बताए।
‘सरकारी अस्पतालमा भीड र निजी अस्पतालमा महँगो शुल्कको बीचमा सर्वसाधारण नागरिक समस्यामा छन्। यही खाडल पूर्ति गर्न केयरटेकर अस्पताल स्थापना गरेका हौँ,’ उनले भने।
उनका अनुसार अस्पतालमा सरकारी अस्पताल सरह किफायती शुल्क लिइनेछ भने सेवा, प्रविधि र व्यवस्थापन भने निजी अस्पताल स्तरको हुनेछ।

१०० शय्याको सुविधा सम्पन्न अस्पताल
अस्पतालमा हाल १००शय्याको बेड क्षमता रहेको छ। २४सै घण्टा इमर्जेन्सी सेवा सञ्चालनमा रहेको अस्पतालमा जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी तथा मेरुदण्ड, छाला तथा सौन्दर्य, मुटुरोग, रेडियोलोजी, नाक, कान, घाँटी, डेन्टल, फिजियोथेरापीलगायतका विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
त्यस्तै, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी, युरो सर्जरी र न्युरो सर्जरी सेवा समेत सुरु भइसकेको अस्पतालले जनाएको छ। आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड सेवा र संक्रमण नियन्त्रण प्रणालीसहितको सुरक्षित शल्यक्रिया कक्ष अस्पतालको विशेषता रहेको छ।
सुविधा र वातावरणमैत्री पूर्वाधार
अस्पताल परिसर १ बिघा क्षेत्रफलमा फैलिएको छ, जहाँ पर्याप्त पार्किङ सुविधा उपलब्ध छ। बिरामी र आफन्तलाई सहज बनाउने उद्देश्यले अस्पतालमा एसी जडान, हरियाली वातावरणसहित हिँडडुल गर्न मिल्ने पार्क तथा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ।
स्वास्थ्य शिक्षाको केन्द्र बन्ने लक्ष्य
केयरटेकर अस्पतालले आफूलाई उपचार केन्द्रमा मात्र सीमित नराखी स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ।

निकट भविष्यमै नर्सिङ तथा एचएको अध्ययन कार्यक्रम सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ। साथै, भेन्टिलेटरयुक्त एम्बुलेन्स, सीटी स्क्यान सेवा जडान गर्ने तयारी भइरहेको छ, जसले अब यस क्षेत्रका बिरामीलाई ठूला शहर धाउनुपर्ने बाध्यता हटाउने विश्वास अध्यक्ष शाहीको छ।
सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
अस्पतालले ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ। सहुलियतपूर्ण उपचार, औषधि र नियमित चेकजाँचमार्फत बिरामी–डाक्टर सम्बन्धलाई सुदृढ बनाउने प्रतिबद्धता अस्पतालले जनाएको छ।
‘हामी बिरामीलाई सम्मानपूर्वक सेवा दिने, उपचारमा पारदर्शिता अपनाउने र पैसाभन्दा पहिला मानव जीवनलाई प्राथमिकता दिनेछौँ,’ अध्यक्ष शाहीले भने।

अस्पतालले सञ्चारकर्मीमार्फत सकारात्मक सन्देश समाजसम्म पुर्याइदिन आग्रह गर्दै सबै सहयोगीप्रति आभार व्यक्त गरेको छ।






















प्रतिक्रिया