टेक राज भण्डारी, फागुन २, अछाम
जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी १२ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको उक्त गोष्ठीमा विद्यालयमा रेडक्रस अभियान सुदृढीकरण, जुनियर तथा युवा रेडक्रस सर्कलबारे अभिमुखीकरण, सदस्यता वितरण तथा सर्कल गठन/पुनर्गठन गर्ने निर्णय गरिएको छ।
गोष्ठीले शैक्षिक सत्र २०८३ को जेठ मसान्तभित्र जिल्लाभित्रका सबै विद्यालयमा सर्कल गठन तथा पुनर्गठन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। साथै प्रत्येक विद्यालयका सर्कलमार्फत विद्यालय तथा समुदायस्तरमा सिर्जनात्मक तथा सचेतनामूलक गतिविधि निरन्तर सञ्चालन गर्ने उल्लेख गरिएको छ।
कार्यक्रमबाट धनकुमार केसीको संयोजकत्वमा जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस समिति समेत गठन गरिएको छ। गोष्ठी फलदायी भएको र प्रतिबद्धता कार्यान्वयनमा जोड दिइने संयोजक केसीले बताउनुभयो।
समापन समारोहमा नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुंगानाले गोष्ठीले तयार पारेको कार्ययोजना र प्रतिबद्धताअनुसार प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसबाट जिल्लामा रेडक्रस अभियानले नयाँ गति लिने बताउनुभयो।
गोष्ठीमा जिल्लाका दशवटै पालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सबै पालिकाले वार्षिक कार्ययोजना तयार गरी सोहीअनुसार विद्यालयस्तरमा समेत कार्ययोजना कार्यान्वयन गरिने जनाइएको छ।
कार्यक्रममा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणका उपाय, जुनियर तथा युवा रेडक्रस अभियान, लागूऔषध दुव्र्यसन, सडक दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रमलगायत विषयमा अभ्याससहित प्रशिक्षण प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी अछाम का कर्मचारी रुपबहादुर कठायतले जानकारी दिनुभयो।























प्रतिक्रिया