विनायक (अछाम) । आगामी निर्वाचनको पूर्वसन्ध्यामा अछाम क्षेत्र नम्बर २ का उम्मेदवारहरूले आफ्नो चुनावी एजेण्डा र जिल्लाको विकासका योजनाबारे नागरिकसामु खुल्ला बहस गरेका छन्। अछाम सरोकार मञ्चको आयोजना र अछाम जेसीजको सह-आयोजनामा पञ्चदेवल विनायक नगरपालिकामा ‘खुला बहस’ कार्यक्रम सम्पन्न भएको हो।
सरोकार मञ्च अछामका कोषाध्यक्ष शंकर बहादुर रावलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न दलका उम्मेदवारहरूले अछामको गरिबी, पछौटेपन र बसाइँसराइ अन्त्य गर्दै ‘समृद्ध अछाम’ बनाउने कुरामा एकमत देखिएका छन्। बहसमा सहभागी उम्मेदवारहरूले कृषिमा आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र गौरवका आयोजनाहरूको पूर्णतालाई आफ्नो प्राथमिकतामा राखेका छन्।
उम्मेदवारहरूका प्रमुख एजेण्डा:
- पुष्प बहादुर शाह (नेपाली कांग्रेस): उम्मेदवार शाहले आफ्नो अघिल्लो कार्यकालमा सुरु गरिएका अधुरा योजनाहरूलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताए। उनले ३ वर्षको अवधिमा जिल्लाका थुप्रै विकास निर्माणका योजनामा सरकारको ध्यानाकर्षण गराएको दाबी गरे।
- यज्ञबहादुर बोगटी (नेकपा एमाले): एमाले केन्द्रीय कमिटी सदस्य बोगटीले आफू सांसद हुँदा क्षेत्र नं. २ मा दर्जनौं काम गरेको र संसदमा अछामका समस्याबारे सबैभन्दा बढी आवाज उठाएको दाबी गरे। बाँकी रहेका योजनाहरू पूरा गर्न आफू पुनः चुनावी मैदानमा आएको उनको भनाइ थियो।
- बल बहादुर कुवँर (नेपाली कम्युनिष्ट पार्टी): नेता कुवँरले पटक-पटक जितेकाहरूलाई भन्दा यसपटक नयाँ अनुहारलाई अवसर दिन आग्रह गरे। उनले कृषि क्षेत्रको व्यापक सुधार र यहाँका सम्भावनालाई विकासमा बदल्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे।
- मीन बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी): शाहीले देशमा बढ्दो वैदेशिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गरे। उनले मुलुक अब राप्रपाको एजेण्डामा अघि बढ्ने दाबी गर्दै राष्ट्रियताको रक्षा नै आफ्नो मुख्य मुद्दा भएको बताए।
- झंकर बहादुर शाही (नेपाल मजदुर किसान पार्टी): नेमकिपाका जिल्ला अध्यक्ष शाहीले किसानलाई आत्मनिर्भर बनाउने नीति आफ्नो प्रमुख एजेण्डा रहेको बताए। उनले कृषिमा आधुनिकीकरण गरेर मात्रै देशलाई विकासको गतिमा लैजान सकिने तर्क गरे।
- शेर बहादुर विश्वकर्मा (नेकपा माओवादी): विश्वकर्माले वर्तमान संविधानका केही बुँदाहरू संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए। संविधान संशोधन नगरी मुलुकले सही दिशा लिन नसक्ने भन्दै उनले माओवादीलाई मतदान गर्न आग्रह गरे।
- राजेश रावल (उज्यालो नेपाल पार्टी): युवा उम्मेदवार रावलले आफूले ‘जेनजी’ (Gen Z) युवाहरूको प्रतिनिधित्व गरेको बताए। उनले ठूला भाषणभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै एक पटक विश्वास गर्न आग्रह गरे।
कार्यक्रममा अछाम सरोकार मञ्चका सचिव तुलाराम बिसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले कार्यक्रमको सहजीकरण गरेका थिए।
निर्वाचनको मुखमा आयोजित यस्तो खुला बहसले मतदातालाई उम्मेदवार छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया