अछाम, चैत ०९ — अछाम जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्लामा सञ्चालित सुरक्षित आवासगृह (सेफ हाउस) लाई स्रोत–साधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।
जिल्लामा दिनप्रतिदिन महिला, बालबालिका तथा किशोरीमाथि विभिन्न बहानामा हिंसाका घटनाहरु बढ्दै गइरहेकाले यस्तो अवस्थामा सेफ हाउसलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा उनीहरुले जोड दिएका छन्। हालसम्म संस्थाले हिंसामा परेका व्यक्तिहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यसको दिगोपनाका लागि आवश्यक स्रोत सुनिश्चित गर्न सबै पालिकाले आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
हाल मंगलसेन नगरपालिकाको नेतृत्वमा सञ्चालन भइरहेको सेफ हाउसलाई नमुना सेफ हाउसका रूपमा विकास गर्नुपर्ने र सो कार्यमा निरन्तर सहयोग रहने जनप्रतिनिधिहरुको भनाइ थियो।
कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरुले पनि हिंसामा परेका महिलाको क्षेत्रमा संस्थाले निरन्तर काम गरिरहेको भन्दै यसलाई थप व्यवस्थित बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए। साथै, सेफ हाउसमा आउने महिला तथा किशोरीहरुलाई आत्मनिर्भर बनाउने विषयमा पनि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिइएको छ।
मंगलसेन नगरपालिकाको आयोजना, सिएमसी नेपालको समन्वय र युएनएफपिए (UNFPA) को आर्थिक सहयोगमा सञ्चालित ‘लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना’ दोस्रो चरण अन्तर्गत जिल्ला स्तरीय लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समिति बैठकमा सहभागीहरुले संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, दिगो र भरपर्दो सेवा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती शाही प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल, पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने, रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद लगायत विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो। साथै, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुख तथा जिल्लाका अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्यबारे युएनएफपिएका अछाम–डोटी प्रमुख भरत गोतामेले प्रकाश पार्नुभएको थियो भने सहजीकरण सिएमसी नेपालका प्रदेश संयोजक दिवाकर जोशी र साथी संस्थाकी प्रमुख पलिता थापाले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो।
अछाम जिल्लामा एक मात्र सेफ हाउस सञ्चालनमा रहेकोले यसलाई थप प्रभावकारी र नमुना संस्थाका रूपमा विकास गर्दै लैजाने विषयमा सबै सहभागी सहमत भएका सिएमसी नेपालकी मनोसामाजिक परामर्शकर्ता पार्वती बोहराले जानकारी दिनुभएको छ।






















प्रतिक्रिया