मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन–६ का किसानले १५ लाख ५२ हजार रुपैयाँ बराबरको मकै बिक्री गरे

मंगलसेन–६ का किसानले १५ लाख ५२ हजार रुपैयाँ बराबरको मकै बिक्री गरे


टेक बहादुर थापा, अछाम |

अछामको मंगलसेन नगरपालिका–६ का किसानहरूले यस वर्ष १५ लाख ५२ हजार रुपैयाँ बराबरको मकै बिक्री गरेका छन्। गत वर्ष करिब १० लाख रुपैयाँ बराबरको मकै बिक्री गरेका किसानहरूले यस वर्ष गत वर्षको तुलनामा झण्डै ५ लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भएका हुन्।

वडा भरिका किसानले उत्पादन गरेको २६ हजार ७ सय ६० केजी मकै बिक्री गरेर साढे १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको शिवशक्ति कृषि सहकारी संस्थाका अध्यक्ष लोकराज भण्डारीले जानकारी दिनुभयो।

कृषि सहकारी संस्थाको सहजीकरणमा किसानले उत्पादन गरेको मकै वडा कार्यालयमा संकलन गरी बिमल फर्म एग्रो एण्ड रिसर्च सेन्टर, चितवनलाई बिक्री गरिएको वडा अध्यक्ष देवेन्द्रप्रसाद भण्डारीले बताउनुभयो। वडाका सबै किसानले उत्पादन गरेको मकै एकीकृत रूपमा संकलन गरी निर्यात गरिएको उहाँको भनाइ छ। निरन्तरको प्रयास र सहकार्यबाट यस्तो उपलब्धि हासिल भएको अध्यक्ष भण्डारीले उल्लेख गर्नुभयो।

शिवशक्ति कृषि सहकारी संस्थाका अनुसार मनकामना जातको मकै प्रतिकेजी ४० रुपैयाँरामपुर कम्पोजिट जातको मकै प्रतिकेजी ५० रुपैयाँमा बिक्री गरिएको हो।

मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले वडा नं. ६ का किसानहरूको मेहनतले नगरको गरिमा बढाएको भन्दै खुसी व्यक्त गर्नुभयो। यस वडाका किसानहरूले उत्पादन गरेको दूध नगरका अधिकांश वडामा पुग्ने गरेको उल्लेख गर्दै उहाँले यस्ता रचनात्मक तथा उत्पादनमुखी कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो। यसबाट किसानको आम्दानी बढ्नुका साथै उनीहरूलाई थप प्रोत्साहन मिल्ने भएकाले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता उहाँले जनाउनुभयो।

यस्तै शिवशक्ति कृषि सहकारी संस्थाका व्यवस्थापक वेदराज भण्डारीले हरेक वर्ष किसानले उत्पादन गरेको मकैले राम्रो बजार पाउँदा किसानहरू उत्साहित भएको बताउनुभयो। किसानले दुःख गरेर उत्पादन गरेको मकै समयमै बिक्री हुन सकेपछि उनीहरूको हौसला बढेको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले थप कृषि उपकरण खरिदमा सहयोग गर्नुपर्ने माग गर्नुभयो।