मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्लामा प्रसव फिस्टुला कार्यक्रम लागू हुने

अछाम जिल्लामा प्रसव फिस्टुला कार्यक्रम लागू हुने


अछाम जिल्लामा प्रसव फिस्टुला सम्बन्धी कार्यक्रम लागू हुने भएको छ। साइनिङ अस्पताल, आई.एन.एफ. नेपाल सुर्खेतको सहकार्यमा प्रसव फिस्टुला समस्या भएका महिलालाई लक्षित गरी जिल्लाका १० वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने भएको हो।

यसै सम्बन्धमा बिहीबार मंगलसेनमा आयोजित जिल्ला स्तरीय समन्वय बैठकमा कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराइएको थियो। जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाका सबै पालिकामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रसव फिस्टुला सम्बन्धी जनचेतना, पहिचान, उपचार र पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।

बैठकमा पहिचान भएका बिरामीहरूको निःशुल्क उपचार, यातायात सुविधा तथा आवश्यक पुनःस्थापनाका लागि पहल गरिने विषयमा समेत सहमति गरिएको छ।

समन्वय बैठकमा बोल्दै जिल्ला समन्वय समिति प्रमुख कुँवरले प्रसव फिस्टुला सम्बन्धी कार्यक्रम महिलाको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। अछाम जिल्लामा यस प्रकारको कार्यक्रम आवश्यक रहेकाले सफल कार्यान्वयनका लागि सबै सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। हाल पनि जिल्लामा प्रसव फिस्टुलाका बिरामी हुन सक्ने तर पहिचान हुन नसकेको अवस्था रहेको उल्लेख गर्दै कार्यक्रमलाई छिटो गाउँस्तरसम्म विस्तार गर्न सुझाव दिनुभयो।

सो अवसरमा साइनिङ अस्पताल सुर्खेतका फिस्टुला कार्यक्रम प्रमुख कान्तप्रसाद सुवेदीले अछामका १० वटै पालिका अन्तर्गत ९१ वटै वडामा महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रसव फिस्टुला समस्या भएका महिलाको पहिचान गरी निःशुल्क उपचार लगायतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, जिल्ला प्रहरी प्रमुख ओमप्रकाश खनाल, मंगलसेन नगरपालिका–५ का वडा अध्यक्ष झंकरप्रसाद भाट लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले गर्नुभएको थियो।