अछामको कमलबजार नगरपालिका वडा नं. ६ बिरपथमा गत आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ तथा चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी स्थानीयले वडा समितिले सीमित स्रोत–साधनका बाबजुद पारदर्शी र नागरिकमैत्री ढंगले काम गरिरहेको भन्दै प्रशंसा गरेका छन्। जनप्रतिनिधिहरूले स्थानीय सरोकारवालासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने कार्यशैली प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि यसैगरी काम निरन्तरता दिन सुझाव दिएका छन्।
वडामा ठूलो बजेट नआए पनि आएको बजेटको सही सदुपयोग भएको उल्लेख गर्दै स्थानीयले आगामी दिनमा नागरिकको आवश्यकता र चाहनाअनुसार योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा किसानहरूले वडा नं. ६ कृषि उत्पादनका लागि उर्वर क्षेत्र भएकाले स्थानीय सरकारले गुणस्तरीय बिउबिजन र अनुदानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष तथा स्थानीय अगुवा झंकर बहादुर शाहीले वडाको कामप्रति सन्तुष्टि व्यक्त गर्दै विगतको तुलनामा सुशासन र पारदर्शितामा उल्लेख्य सुधार आएको बताउनुभयो। कृषि पकेट क्षेत्र घोषणा भए पनि सोअनुसार बजेट विनियोजन नभएको भन्दै पालिका सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले कृषि क्षेत्रमा विनियोजन हुने बजेट बढाई वास्तविक किसानलाई अनुदान दिनुपर्ने सुझाव दिनुभयो।
कालीका माध्यमिक विद्यालयका प्रधानाध्यापक तपेन्द्र बहादुर शाहीले वडा कार्यालयमा नागरिक वडापत्र राख्नुपर्ने सुझाव दिनुभयो। नागरिक वडापत्र कार्यालयको ऐना भएकाले सबैले देख्ने स्थानमा राख्नुपर्ने उहाँको भनाइ थियो। साथै, स्थानीय सरकारबाट अनुदान लिने व्यक्तिहरूको विवरण सार्वजनिक गर्नुपर्ने र अनुदानको प्रभावकारिता समीक्षा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।
स्थानीय मिन बहादुर शाहीले डेढ लाख रुपैयाँ भुक्तानीका लागि २२ दिनसम्म पालिका धाउनुपरेको गुनासो गर्नुभयो। भुक्तानी प्रक्रियामा अनावश्यक दुःख दिइएको र आवत–जावतमै ३० हजार रुपैयाँभन्दा बढी खर्च भएको भन्दै क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो।
अन्य स्थानीयले जंगली जनावर बदेल र बनमारो झारका कारण खेतीपातीमा समस्या भइरहेको गुनासो गरेका थिए। गाउँबाट बसाइँसराइ बढेसँगै जंगली जनावर गाउँमा आउन थालेको र बनमारो झार फैलिँदा किसानहरू गम्भीर समस्यामा परेको बताएका छन्।
स्थानीयका प्रश्न र गुनासोको जवाफ दिँदै कमलबजार नगरपालिकाकी उपप्रमुख सारदा बिष्ट कुँवरले नागरिकका समस्या सुन्न र समाधान गर्न पालिकाले सबै १० वटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। उहाँले उठाइएका गुनासाहरू क्रमशः सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्ष लाल बहादुर शाहले शिक्षण पेशा छोडेर जनताको सेवाका लागि राजनीतिमा आएको बताउँदै कुनै पनि प्रकारको अनियमितता नगर्ने र नसहने प्रतिबद्धता जनाउनुभयो। उहाँले नागरिकलाई राम्रो कामको प्रशंसा र गलत कार्यको खुलेर विरोध गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव हेमन्त कुमार शाहीले गर्नुभएको थियो।























प्रतिक्रिया